May 2, 2026, Saturday
२०८३ बैशाख १९

कोरोनाको डरले मान्छेको शरीरमा हानिकारक रसायन छर्कियो

काठमाडौं चैत्र १७(ई-रैवार)
भारतको उत्तर प्रदेश सरकारले बरेली बस स्टेशनमा मानिसहरुमाथि नै हानिकारक रसायन छर्केको छ । अन्य प्रान्तबाट आएका मानिसलाई आइतबार बरेली स्टेसनमा राखेर पर्खाल तथा बसलाई जस्तै मानिसहरु माथि समेत रसायन छर्केको हो ।
बीबीसी हिन्दीमा उल्लेख गरिए अनुसार मानिसहरुलाई यसरी छर्किएको पानीमा सोडियक हाइपोक्लोराइड जस्तो रसायन पनि मिसाइएको थियो । यस किसिमको रसायन जमिन वा घरको सफाइको लागि प्रयोग गरिन्छ । यसले मानिसको छाला तथा आँखामा नकारात्मक असर पार्छ ।
यो घटनाको विषयमा बरेलीका चिफ फायर अफिसर चन्द्रमोहन शर्माले भिडियोमा देखिए अनुसारको रसायन मानिसलाई खतरनाक भएकाले यसमा सामेल भएका सबैलाई कारबाही गरिने बताएका छन् ।
आइतबार बरेलीमा एक मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नगर निगमको स्वास्थ्य विभागको टोलीले मुख्य स्थानमा सेनिटाइजेसन गर्ने काम सुरु गरेको थियो । यसै क्रममा मानिसमाथि समेत उक्त रसायन छर्किएको हो ।
स्थानीय जिल्ला अधिकारीले सामाजिक सञ्जाल मार्फत् उक्त रसायन छर्किएको सबै मानिसको उपचार गरिने बताएका छन् । तर, मानिसहरुले यसमा आशंका व्यक्त गरेका छन् ।