जटिल प्रसूति समस्यामा अछामकी २० वर्षीया महिलाको हवाई उद्धार

धनगढी । जटिल प्रसूति समस्याका कारण ज्यान जोखिममा परेकी अछामकी २० वर्षीया महिलाको नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइएको छ।
अछामको मंगलसेन नगरपालिका–४ निवासी ती महिलामा जटिल प्रसूति समस्या देखिएपछि मंसिर १ गते तत्काल हवाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल लगिएको हो।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गर्दै आएको हवाई उद्धार कार्यक्रममार्फत उनको उद्धार गरिएको हो।
दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा स्वास्थ्य सेवाको सहज पहुँच नहुँदा जटिल अवस्थामा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै सुविधासम्पन्न स्वास्थ्य संस्थामा पुर्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन हुँदै आएको मन्त्रालयले जनाएको छ।
समयमै उपचारको पहुँचमा पुर्याउन नसक्दा प्रसूति जटिलता आमा र शिशु दुवैका लागि जोखिमपूर्ण बन्न सक्ने भएकाले यस्ता अवस्थामा हवाई उद्धार प्रभावकारी माध्यम बन्दै आएको छ।
सरकारको हवाई उद्धार कार्यक्रमले विशेषगरी दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई आकस्मिक अवस्थामा सुविधासम्पन्न स्वास्थ्य संस्थासम्म पुर्याएर उपचारको पहुँच विस्तार गर्न सहयोग गर्दै आएको छ।




प्रतिकृया दिनुहोस्