एनपिएलमा आज काठमाडौं र चितवन भिड्दै, हार्ने टोली बाहिरिने

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपिएल० क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्दैछन्। फाइनल यात्राको सम्भावना कायम राख्न दुवै टोलीका लागि यो खेल ‘गर या मर’को अवस्थामा छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ। एलिमिनेटरको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ।
एलिमिनेटर जित्ने टोलीले बिहीबार पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित सुदूरपश्चिम रोयल्ससँग दोस्रो क्वालिफायर खेल्नेछ। दोस्रो क्वालिफायरको विजेताले शनिबार उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ।
अंक तालिकामा काठमाडौं तेस्रो र चितवन चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका हुन्। काठमाडौंले लिग चरणका सात खेलमध्ये चारमा जित र तीनमा हार बेहोरेको थियो।
चितवनले भने सात खेलमा तीन जित, तीन हार र एक खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेर प्लेअफमा स्थान बनाएको हो।
लिग चरणको प्रदर्शनका आधारमा काठमाडौं केही बलियो देखिए पनि प्लेअफमा पुगिसकेपछि दुवै टोलीका लागि अघिल्ला नतिजाभन्दा आजको प्रदर्शन निर्णायक हुनेछ। एक खेलबाट प्रतियोगिताको भविष्य तय हुने भएकाले एलिमिनेटरमा दबाबसँग जुध्दै उत्कृष्ट प्रदर्शन गर्ने टोली नै दोस्रो क्वालिफायरमा पुग्नेछ।



प्रतिकृया दिनुहोस्