एमालेको राष्ट्रिय भेला आजदेखि, स्थानीय तह निर्वाचन तयारीदेखि पार्टीका १५ कामसम्म छलफल

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ। स्थानीय तह निर्वाचनको तयारीसँगै पार्टीको आगामी राजनीतिक दिशा र संगठन परिचालनबारे रणनीति तय गर्ने उद्देश्यले आयोजना गरिएको भेला बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजे सुरु हुनेछ।
भेलामा केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष, जनसङ्गठनका प्रतिनिधि, केन्द्रीय निकायका पदाधिकारी, संघीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुनेछन्। अधिकांश सहभागी काठमाडौं आइसकेका छन्।
पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा दिनुका साथै स्थानीय तहको निर्वाचनको तयारीका लागि भेला आयोजना गरिएको हो।
बुधबार बसेको पार्टी स्थायी कमिटी बैठकले भेलाका एजेन्डा अनुमोदन गरेको छ। भट्टका अनुसार गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकका निर्णयको कार्यान्वयन, त्यसमा एकरूपता कायम गर्ने विषय तथा पार्टीले आगामी दिनमा गर्नुपर्ने १५ वटा कामबारे भेलामा छलफल हुनेछ।
राष्ट्रिय भेलाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ। भेलालाई वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिएका छन्।
एमालेले राष्ट्रिय भेलालाई संगठनात्मक गतिविधि, निर्वाचन तयारी र आगामी राजनीतिक रणनीतिबारे साझा धारणा निर्माण गर्ने मञ्चका रूपमा लिएको छ। भेलाबाट स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठन परिचालन र आगामी कार्यदिशाबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ।



प्रतिकृया दिनुहोस्