टिम कल्चरको बलमा लुम्बिनी लगातार दोस्रो पटक एनपिएल फाइनलमा

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा लगातार दोस्रो पटक फाइनलको टिकट काटेको छ। सामान्य लक्ष्य पछ्याउने क्रममा निरोशन डिक्वेलाको अविजित अर्धशतकसँगै लुम्बिनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिममाथि सहज जित निकाल्यो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। डिक्वेलाले ३७ बलमा ७ चौका र २ छक्कासहित अविजित ५९ रन बनाए।

लुम्बिनीले पहिलो ओभरमै डार्सी सर्टलाई खाता नखोल्दै गुमाएको थियो। स्कट कुगेलेइनको बलमा आउट भएका सर्टपछि आशिफ शेख पनि ८ बलमा ४ रन बनाएर फर्किए। ३.२ ओभरमा २४ रन जोड्दा दुई विकेट गुमाएको लुम्बिनीलाई डिक्वेला र कप्तान रोहितकुमार पौडेलले सम्हाले।

दुवैले तेस्रो विकेटका लागि ३८ रनको साझेदारी गरे। रोहित २८ बलमा २१ रन बनाएर आउट भए। त्यसपछि सन्दीप जोराले डिक्वेलासँग चौथो विकेटका लागि २३ रन जोडे। जोरा ८ रनमा आउट भए पनि डिक्वेलाले दिलीप नाथसँग अविजित २३ रनको साझेदारी गर्दै टोलीलाई फाइनल पुर्‍याए। उनले ३२ बलमै अर्धशतक पूरा गरेका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनाएको थियो। कप्तान दीपेन्द्रसिंह ऐरीले ५१ बलमा ३ चौका र १ छक्कासहित ५२ रन बनाए। इशान पाण्डेले ३३ बलमा २७ रन जोडे।

सुदूरपश्चिमको सुरुवात भने निकै खराब रह्यो। पहिलो ओभरको पहिलो बलमै जर्ज मुन्से खाता नखोल्दै आउट भए। त्यसपछि विनोद भण्डारी र थानुका दबारे पनि सस्तैमा पेभेलियन फर्किए। ३.१ ओभरमा ८ रन जोड्दा तीन विकेट गुमाएको सुदूरपश्चिमलाई दीपेन्द्र र इशानले चौथो विकेटका लागि ६४ रनको साझेदारी गर्दै संकटबाट निकाले।

इशान १५औँ ओभरमा २७ रन बनाएर रनआउट भए। त्यसपछि सुदूरपश्चिमले नियमित अन्तरालमा विकेट गुमाउँदै गयो। दीपेन्द्रले ४५ बलमा अर्धशतक पूरा गरे पनि २०औँ ओभरको दोस्रो बलमा शेर मल्लको बलमा डार्सी सर्टबाट क्याच आउट भए। अन्तिम बलमा स्कट कुगेलेइन रनआउट भएपछि सुदूरपश्चिम १०५ रनमै रोकियो।

बलिङतर्फ लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले समान दुई विकेट लिए। अभिशेष गौतम र किशोर महतोले एक–एक विकेट हात पारे।

‘ठूला नाम’ होइन, टिम कल्चर

लुम्बिनीको लगातार दोस्रो फाइनल यात्रा केवल मैदानमा प्राप्त नतिजाको कथा होइन, टोली निर्माणको रणनीतिको परिणाम पनि हो। तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानका अनुसार लुम्बिनीको सफलताको मुख्य आधार खेलाडीबीचको एकता, आपसी विश्वास र बलियो टिम कल्चर हो।

उनका अनुसार अन्तर्राष्ट्रिय प्रतिष्ठा भएका ठूला नामका खेलाडी भित्र्याउँदैमा टोली सफल हुँदैन। टोलीको वातावरणमा घुलमिल हुने क्षमता, खेलाडीबीचको सम्बन्ध र मैदानमा प्रदर्शनले बढी महत्व राख्छ।

लुम्बिनीले पछिल्ला सिजनमा आफ्नो मुख्य खेलाडी समूहलाई निरन्तरता दिँदै आएको छ। एउटै समूह लामो समय सँगै खेल्दा खेलाडीबीचको समझदारी र विश्वास बलियो हुने ट्रम्पलम्यानको धारणा छ। मैदानबाहिरको सम्बन्धले पनि मैदानमा सञ्चार र समन्वय सहज बनाउने उनको विश्वास छ।

नयाँ खेलाडी अनुबन्ध गर्दा पनि टोलीलाई आवश्यक पर्ने स्थान पहिचान गरेर मात्रै खेलाडी थप्नुपर्ने उनी बताउँछन्। अघिल्लो सिजनमा देखिएका कमजोरी सुधार्ने र आवश्यक स्थानमा मात्रै नयाँ खेलाडी भित्र्याउने रणनीति प्रभावकारी हुने उनको भनाइ छ।

हरेक सिजन ठूलो संख्यामा खेलाडी परिवर्तन गरेर नयाँ टोली निर्माण गर्नुभन्दा उपाधि जित्ने क्षमता प्रमाणित गरिसकेको समूहलाई निरन्तरता दिँदै अझ बलियो बनाउनु उपयुक्त हुने ट्रम्पलम्यानको तर्क छ।

लुम्बिनीले यही रणनीतिक निरन्तरताको परिणाम मैदानमा पनि देखाएको छ। पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई हराउँदै टोली लगातार दोस्रो पटक फाइनल पुगेको छ।

उता, सुदूरपश्चिमसँग भने फाइनल प्रवेशको अर्को अवसर बाँकी छ। उसले बिहीबार दोस्रो क्वालिफायर खेल्नेछ। त्यसअघि बुधबार एलिमिनेटरमा काठमाडौं गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेताले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा सुदूरपश्चिमसँग खेल्नेछ।