November 18, 2026, Wednesday
२०८३ मंसिर ३

देउसी-भैलोमा अश्लील नृत्य गरेको आरोपमा दुई जना पक्राउ

रूपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलावार बजारमा आयोजित देउसी–भैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई कात्तिक २६ गते राति करिब १२ः०५ बजे नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी चन्द्रकिशोर शाहका अनुसार पक्राउ परेकामाथि सार्वजनिक हित तथा नैतिकताविरुद्धको कसूरमा थप अनुसन्धान अघि बढाइएको छ।

पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ती बस्नेत रहेका छन्।

रुपन्देहीका डीएसपी कृष्णकुमार चन्दका अनुसार उनीहरूले नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताको प्रतिकूल हुने गरी देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा पक्राउ गरिएको हो।

प्रहरीले परम्परागत देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रममा अमर्यादित र अश्लील गतिविधि नगर्न आग्रह गर्दै त्यस्ता गतिविधिमा संलग्न हुनेमाथि प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ।