November 5, 2026, Thursday
२०८३ कार्तिक २०

एनपीएल : जनकपुरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबारको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। टस हारेपछि लुम्बिनीले पहिले ब्याटिङ गर्दैछ।

लुम्बिनी यस सिजन अपराजित रहने एक्लो टोली हो। तीन खेलबाट पाँच अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा छ। यता जनकपुरले चार खेलबाट दुई जित र दुई हारसहित चार अंक जोडेको छ।

दुवै टोलीले आजको खेलका लागि आफ्नो प्लेइङ–११ मा परिवर्तन गरेका छन्। लुम्बिनीले अभिषेक गौतमको स्थानमा दिलीप नाथलाई पहिलो रोजाइमा खेलाएको छ।

जनकपुरले भने दुई खेलाडी परिवर्तन गरेको छ। अमर सिंह राउटेला र मोइन अलीको स्थानमा आदित्य महता र परभेज हुसेन इमोनलाई प्लेइङ–११ मा समावेश गरिएको छ।

जनकपुरका महत्वपूर्ण विदेशी खेलाडी मोइन अली सुरुवाती चार खेल खेलेपछि अबुधाबी टी–१० लिगमा सहभागी हुन गइसकेका छन्। उनको अनुपस्थितिमा जनकपुरको टोलीले नयाँ संयोजनसहित लुम्बिनीको अपराजित यात्रामा पूर्णविराम लगाउने प्रयास गर्नेछ।