October 27, 2026, Tuesday
२०८३ कार्तिक ११

डेभिड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

काठमाडौँ । डेभिड मलानको अर्धशतकमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्ससामु १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५७ रन बनाएको हो।

चितवनका लागि ओपनर डेभिड मलानले ७० रनको अर्धशतकीय इनिङ खेले। उनले ५० बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे। मलानले अर्का ओपनर देव खनालसँग पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए।

कप्तान रवि बोपारा ३२ रनमा अविजित रहे। उनले २६ बलमा उक्त रन बनाएका हुन्। त्यस्तै ड्यान माउस्लीले २९ तथा देव खनालले १२ रन बनाए। अर्जुन साउद तीन रनमा आउट भए।

विराटनगरका लागि एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलंकाले एक–एक विकेट लिए। खेलका क्रममा विराटनगरका कप्तान सन्दीप लामिछानेले १७.३ ओभरमा डीआरएसको अपिल गरेका थिए। अम्पायरले नटआउट दिएपछि गरिएको रिभ्युमा पनि टिभी अम्पायरले नटआउटको निर्णय कायम राख्दा चितवनका ड्यान माउस्लीको विकेट जोगिएको थियो।

अब विराटनगरले १५८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्नेछ। दुवै टोली प्रतियोगिताको सुरुवात जितका साथ गर्ने लक्ष्यमा छन्।

पहिलो सिजन लिग चरणमै सीमित भएको विराटनगरले दोस्रो सिजनमा प्रभावशाली प्रदर्शन गर्दै प्लेअफसम्मको यात्रा तय गरेको थियो। यता पहिलो सिजन एलिमिनेटरसम्म पुगेको चितवन दोस्रो सिजनमा भने लिग चरणबाटै बाहिरिएको थियो।

प्रतियोगिताको उद्घाटन खेलमा सोमबार साविक विजेता लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। आजै अपराह्न साढे ४ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच दोस्रो खेल हुनेछ।

यस संस्करणको एनपीएलमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग भइरहेको छ। त्यस्तै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पहिलोपटक एनपीएललाई अन्तर्राष्ट्रिय मान्यता दिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले यसपटक पुरस्कार राशि पनि बढाएको छ। उपाधि विजेताले एक करोड ५० लाख रुपैयाँ र उपविजेताले ८० लाख रुपैयाँ प्राप्त गर्नेछन्। समूह चरणका खेल कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन्।