अर्णव चक्रवातको प्रभाव नेपालमा : बिहीबारदेखि भारी वर्षा, हिमपात र हिमपहिरोको जोखिम

काठमाडौँ । बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘अर्णव’ शक्तिशाली बन्दै गएपछि नेपालमा पनि आगामी बिहीबारदेखि मौसममा उल्लेख्य परिवर्तन हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले कात्तिक १२ देखि १४ गतेसम्म देशका अधिकांश भू–भागमा भारी वर्षा, हिमपात, हावाहुरी र चट्याङको जोखिम रहेको जनाएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार विशेष मौसमी बुलेटिन जारी गर्दै चक्रवातको प्रभावका कारण विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश बढी प्रभावित हुने आकलन गरेको हो।
महाशाखाका अनुसार बङ्गालको खाडीमा रहेको ‘अर्णव’ थप शक्तिशाली बन्दै अति शक्तिशाली चक्रवात मा परिणत हुने क्रममा छ। यो प्रणाली उत्तर–पश्चिम दिशातर्फ अघि बढ्दै कात्तिक ११ गते भारतको आन्ध्र प्रदेश र विशाखापट्टनमबीच पर्ने यानम आसपासको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्नेछ।
जमिनमा प्रवेश गरेपछि यसको प्रभाव कात्तिक १२ गते बिहीबारदेखि नेपालमा देखिन थाल्ने र शुक्रबार तथा शनिबार बढी सक्रिय हुने महाशाखाले जनाएको छ। कात्तिक १३ र १४ गते कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुने सम्भावना छ।
त्यस्तै, लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र हावाहुरीसहित मध्यम तथा केही स्थानमा भारी वर्षा हुनसक्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ।
वर्षाका कारण कृषि क्षेत्रमा क्षति पुग्न सक्ने भन्दै महाशाखाले किसानलाई धानबाली भित्र्याउनेलगायतका कृषि कार्य बिहीबारअघि नै सम्पन्न गर्न आग्रह गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातसँगै हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान तथा गइसकेकालाई सुरक्षित स्थानमा रहन सचेत गराइएको छ।
मौसम प्रतिकूलताका कारण देशभर चिसो बढ्नुका साथै सडकमा पहिरो जाने, हवाई तथा सडक यातायात प्रभावित हुने र दैनिक जनजीवनमा असर पर्न सक्ने महाशाखाले जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन आग्रह गरिएको छ।




प्रतिकृया दिनुहोस्