October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको पाँचौँ दिन आज दशैंघर तथा पूजा कोठामा नवदुर्गामध्ये पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीका दिन स्कन्दमाताको पूजा गर्ने धार्मिक परम्परा छ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने गरिन्छ। देवीको आराधना तथा पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।

वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नवरात्रमा पूजा गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने परम्पराअनुसार नेपालीले १५ दिनसम्म बडादशैं मनाउने गर्छन्।

नवरात्रको पहिलो दिन असोज २५ गते दशैंघर तथा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। सोही दिन नवदुर्गामध्ये पहिलो देवी शैलपुत्रीको आह्वान गरी पूजा आराधना गरिएको थियो।

दुर्गा पक्षसमेत भनिने नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा दर्शन तथा पूजा आराधना गर्ने भक्तजनको भीड लागेको छ। राजधानी काठमाडौंसहित देशका विभिन्न शक्तिपीठमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ। शक्तिपीठमा पुगेर देवीको पूजा, आराधना तथा दर्शन गरेमा मनोकामना पूरा हुनुका साथै पारिवारिक सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास छ।

स्कन्दमातासम्बन्धी पौराणिक कथा

पौराणिक ग्रन्थमा स्कन्दमातासम्बन्धी विभिन्न कथा उल्लेख छन्। एक कथाअनुसार भगवान् शिव र पार्वती ऋषिहरूको सभामा पुगेका बेला ऋषि सनतकुमार ध्यानमा मग्न भएकाले उठेर स्वागत गरेनन्। यसबाट पार्वती असन्तुष्ट भई उनलाई ऊँट बन्ने श्राप दिएको उल्लेख पाइन्छ।

तर सनतकुमार ऊँटको योनिमा समेत ब्रह्मज्ञानमा रमाइरहेको देखेपछि पार्वती प्रभावित भइन्। आफूले दिएको श्रापप्रति पश्चात्ताप गर्दै उनले सनतकुमारलाई पुत्रका रूपमा प्राप्त गर्ने इच्छा व्यक्त गरेको र सनतकुमारले त्यसलाई स्वीकार गरी पार्वतीबाट जन्म लिएको कथामा उल्लेख छ। यही कारण पार्वतीलाई स्कन्दमाता भनिएको धार्मिक मान्यता छ।

छान्दोग्य श्रुतिअनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारलाई स्कन्द भनिएको हो। स्कन्दकी माता भएकाले पार्वतीलाई स्कन्दमाता भनिएको धार्मिक ग्रन्थमा उल्लेख छ। स्कन्दमाताको प्रतिमा सामान्यतः सिंहमा विराजमान, हातमा कमलपुष्प धारण गरेको स्वरूपमा वर्णन गरिन्छ।