किशोरलाई जंगलमा लगेर खुकुरी देखाउँदै कुटपिट, पाँच जना पक्राउ

धनगढी । कञ्चनपुरमा १६ वर्षीय किशोरलाई जंगलमा लगेर धारिलो हतियार देखाउँदै कुटपिट तथा यातना दिएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
बेलौरी नगरपालिका–९ रतनपुरका किशोरलाई अपहरण गरी स्थानीय खजुवा जंगलमा लगेर कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बेलौरी नगरपालिका–९ का २१ वर्षीय आशिष बिष्ट, १९ वर्षीय दिलिप भट्ट, २१ वर्षीय शंकर सुनार, २३ वर्षीय सुजित अधिकारी र २२ वर्षीय मिलन तिरुवा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार उनीहरूले गत २३ असोजको साँझ ती किशोरलाई जंगलमा लगेर खुकुरी देखाउँदै धम्की दिनुका साथै कुटपिट गरेका थिए।
घटनासम्बन्धी भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेकाविरुद्ध अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा अपमानजनक अमानवीय व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिकृया दिनुहोस्