October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मेडिकल शिक्षामा बेथिति रोक्न सरकार सक्रिय, अनियमितता भेटिए कारबाही

काठमाडौं । सरकारले मेडिकल शिक्षामा देखिएको भनिएको ‘घोस्ट फ्याकल्टी’को अभ्यासमाथि निगरानी बढाउने भएको छ। निरीक्षणका बेला मात्रै मेडिकल कलेजमा उपस्थित हुने वा आफ्नो नाम, उपस्थिति तथा कागजात प्रयोग गर्न दिने फ्याकल्टीबारे छानबिन गरी अनियमितता पुष्टि भए कारबाही गर्ने तयारी गरिएको शिक्षा मन्त्रालयले जनाएको छ।

शिक्षामन्त्रीको निर्देशनपछि मेडिकल कलेजमा कार्यरत फ्याकल्टीहरूको विवरणमाथि निगरानी बढाउन लागिएको मन्त्रालयले जनाएको छ। फ्याकल्टीको नियुक्ति, नियमित उपस्थिति, अध्यापन, अस्पतालमा सेवा तथा नियामक निकायको निरीक्षणका क्रममा पेस गरिएका विवरणसमेत जाँचको दायरामा ल्याइने भएको छ।

मन्त्रालयका अनुसार वास्तविक रूपमा अध्यापन वा अस्पतालमा सेवा नगरी निरीक्षणका बेला मात्रै आफ्नो नाम, उपस्थिति वा कागजात प्रयोग गर्न दिएको पुष्टि भए सम्बन्धित चिकित्सक तथा मेडिकल कलेजमाथि नियमानुसार कारबाहीको प्रक्रिया अघि बढाइनेछ।

गम्भीर प्रकृतिको अनियमितता वा संलग्नता प्रमाणित भए सम्बन्धित चिकित्सकको नेपाल मेडिकल काउन्सिलको दर्ता वा लाइसेन्समाथि समेत नियमानुसार कारबाही हुन सक्ने मन्त्रालयले जनाएको छ। त्यसअघि सम्बन्धित व्यक्ति तथा संस्थाको संलग्नता प्रमाणित गर्ने आवश्यक प्रक्रिया पूरा गरिनेछ।

मन्त्रालयले फ्याकल्टीको वास्तविक उपस्थिति र भूमिकाबारे विद्यार्थी तथा अन्य सरोकारवालाबाट प्राप्त सूचना, फोटो, भिडियो र अन्य प्रमाणलाई समेत अध्ययनको आधार बनाउने जनाएको छ।

‘अब कागजमा होइन, कक्षामा वास्तविक फ्याकल्टी चाहिन्छ,’ मन्त्रालयले भनेको छ, ‘खडेबाबा प्रयोग गरेर मेडिकल कलेजको सिट वा मान्यता प्रभावित गर्ने अभ्यास प्रमाणित भए संलग्न सबैलाई जवाफदेही बनाइनेछ।’

यस विषयमा हालै बसेको चिकित्सा शिक्षा आयोगको बैठकमा समेत छलफल भएको थियो। बैठकमा यस्ता बेतिथिमा संलग्न अस्पताल तथा चिकित्सकमाथि कडाइ गर्नुपर्ने धारणा आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्र खत्रीले राखेका थिए।

शिक्षा मन्त्रालयले मेडिकल शिक्षासम्बन्धी गुनासा र प्राप्त सूचनाका विषयमा सरोकारवालासँग छलफल तथा अन्तरक्रियासमेत गरेको जनाएको छ। अब मेडिकल कलेजको अनुगमनलाई कागजी विवरणमा मात्र सीमित नगरी फ्याकल्टीको वास्तविक उपस्थिति, अध्यापन र अस्पताल सेवासँग जोडेर प्रभावकारी बनाउने मन्त्रालयको तयारी छ।