October 23, 2026, Friday
२०८३ कार्तिक ८

कांग्रेस महाधिवेशन : आज उम्मेदवारी दर्ता, ७ हजार ११४ प्रतिनिधिले नेतृत्व छान्ने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। महाधिवेशनका ७ हजार ११४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्।

केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा मनोनयन दर्ताको तयारी गरेको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बिहान १० बजेपछि उम्मेदवारलाई मनोनयन दर्ता फारम वितरण गरिनेछ।

संशोधित निर्वाचन कार्यतालिकाअनुसार बिहान ९ः३० बजेसम्म मतदाता नामावलीमाथि दाबी–विरोधको समय तोकिएको छ। त्यसपछि ९ः३० देखि १०ः३० बजेसम्म दाबी–विरोधमाथि जाँचबुझ गरी बिहान ११ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ।

केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि दिउँसो १२ः३० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ। उम्मेदवारी दर्ताका लागि राष्ट्रिय सभागृहभित्रै तोकिएको शुल्क बुझाउने व्यवस्था गरिएको छ।

कांग्रेसले सोमबार संशोधित विधान पारित गर्दै केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाएको छ। पदाधिकारीको संख्या पनि १४ बाट बढाएर २६ पुर्‍याइएको छ।

नयाँ व्यवस्थाअनुसार वरिष्ठ उपसभापति र महिला उपसभापति थपिएका छन्। उपसभापतिको संख्या चार पुगेको छ भने महामन्त्री तीन जना हुनेछन्। त्यसमध्ये एक पद महिला महामन्त्रीका लागि अनिवार्य गरिएको छ।

त्यस्तै दुई खुला सहमहामन्त्री थपिएसँगै सहमहामन्त्रीको संख्या ११ पुगेको छ। कांग्रेसले प्रवक्ता पद पनि थप गरेको छ भने आवश्यकताअनुसार सहप्रवक्ताको संख्या थप गर्न सकिने व्यवस्था गरेको छ।

यसअघि १४औँ महाधिवेशनबाट निर्वाचित कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय थियो भने पदाधिकारीको संख्या १४ थियो। प्रतिनिधिको संख्या तथा समावेशी सहभागिता बढेसँगै यसपटक केन्द्रीय कार्यसमिति र पदाधिकारीको आकार विस्तार गरिएको कांग्रेसले जनाएको छ।

निर्वाचन समितिका सदस्य सचिव कटुवालका अनुसार महाधिवेशनका अन्य कार्यक्रम भने संशोधित निर्वाचन कार्यतालिकाअनुसार नै सञ्चालन हुनेछन्।