केपी ओलीको सांसदलाई निर्देशन : ‘लोकतन्त्र र संविधान रक्षाका लागि सडक र सदनबाट संघर्ष गरौँ’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि सडक र सदन दुवै मोर्चाबाट शान्तिपूर्ण संघर्षको तयारी गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्।
आइतबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले संसद्मा विषयगत तयारीसहित प्रभावकारी भूमिका निर्वाह गर्न र आवश्यक परे आन्दोलनमा उत्रिने तयारी गर्न सांसदहरूलाई निर्देशन दिएका हुन्।
ओलीले एमाले संख्यात्मक रूपमा सानो प्रतिपक्षमा रहे पनि लोकतन्त्र र संविधान निर्माणमा पार्टीले खेलेको ऐतिहासिक भूमिकाका कारण त्यसको संरक्षण गर्ने मुख्य दायित्व एमालेकै काँधमा रहेको बताएका थिए।
जनताका मुद्दा प्रभावकारी रूपमा उठाउन निर्देशन
एमालेका प्रमुख सचेतक ऐन महरका अनुसार ओलीले प्रत्येक सांसदलाई संसद्मा प्रस्तुत हुने विषयको गहन अध्ययन गर्न, विज्ञहरूसँग छलफल गर्न तथा जनताका समस्या र सरोकारलाई सशक्त रूपमा उठाउन निर्देशन दिएका छन्।
उनले संसद्मा एमालेको उपस्थिति संख्यात्मकभन्दा गुणात्मक र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। सांसदहरूले सरकारका कामकारबाहीमाथि तथ्य र विषयवस्तुका आधारमा प्रश्न उठाउनुपर्ने ओलीको भनाइ थियो।
सरकारप्रति एमालेको आक्रोश
बैठकले वर्तमान सरकार लोकतन्त्र, संविधानको रक्षा तथा जनजीविकाका सवाल सम्बोधन गर्न असफल भएको निष्कर्ष निकालेको महरले बताएका छन्।
उनका अनुसार सरकार निरन्तर ‘फासीवादी, स्वेच्छाचारी एवं तानाशाही’ बाटोतर्फ अघि बढिरहेको एमालेको निष्कर्ष छ। सरकारले संसद्लाई समेत सत्ताको छायामा पार्न खोजेको र जनमतको उपेक्षा गरेको आरोप बैठकमा लगाइएको थियो।
महरले संसद्लाई नै एक प्रकारको ‘कठपुतली’ बनाउन खोजिएको आरोप लगाउँदै सरकारको गतिविधिविरुद्ध एमालेले संसद् र सडक दुवै ठाउँबाट सशक्त प्रतिरोध गर्ने संकेत गरेका छन्।



प्रतिकृया दिनुहोस्