कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन समारोहमा को-को दलका शीर्ष नेता आउँदैछन् ?

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्। महाधिवेशनको उद्घाटन आइतबार दिउँसो २ बजे काठमाडौँको खुलामञ्चमा हुँदैछ।
उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहभागी हुने भएका छन्। रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार अहिलेसम्म सभापति लामिछाने नै कार्यक्रममा सहभागी हुने तयारी छ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भने कांग्रेस महाधिवेशनमा सहभागी नहुने भएका छन्। ओलीको सट्टा एमाले महासचिव शंकर पोखरेल सहभागी भएर शुभकामना मन्तव्य दिने भएका छन्। ओली शोकमा रहेका कारण कार्यक्रममा सहभागी नहुने एमालेले जनाएको छ।
यसैगरी नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्घाटन समारोहमा सहभागी हुने भएका छन्। प्रचण्डले कांग्रेस महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको पार्टी स्रोतले जनाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन पनि महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुने भएका छन्। राप्रपाका अनुसार लिङ्देन कांग्रेस महाधिवेशनमा सहभागी हुन काठमाडौँ आउने कार्यक्रम छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालबाट भने अध्यक्ष उपेन्द्र यादव स्वयं सहभागी नहुने भएका छन्। उनको प्रतिनिधित्व पार्टीका सहअध्यक्ष शरतसिंह भण्डारीले गर्ने तयारी रहेको कांग्रेससम्बन्धी पछिल्लो विवरणमा उल्लेख छ।
जनमत पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय जनमोर्चाबाट पनि प्रतिनिधित्व हुने भएको छ। कांग्रेसका अनुसार जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई तथा राष्ट्रिय जनमोर्चाका अध्यक्षको तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेल सहभागी हुने कार्यक्रम छ।
पूर्वप्रधानमन्त्री तथा नेता बाबुराम भट्टराई पनि उद्घाटन समारोहमा सहभागी हुने उनको सचिवालयले जनाएको छ। कांग्रेसले स्वदेशका विभिन्न राजनीतिक दलका साथै विदेशी राजनीतिक दल तथा संस्थाका प्रतिनिधिलाई समेत महाधिवेशनमा आमन्त्रण गरेको छ।
कांग्रेसका अनुसार महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुने नेताहरूले शुभकामना मन्तव्य राख्नेछन्। सभापति गगनकुमार थापाले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटनपछि असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन प्रक्रिया सञ्चालन हुनेछ।



प्रतिकृया दिनुहोस्