October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

कांग्रेसको १५औँ महाधिवेशनको तयारी पूरा, आइतबार खुलामञ्चमा उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी पूरा भएको छ। कांग्रेसका प्रवक्ता देवराज चालिसेले शनिबार पत्रकार सम्मेलनमार्फत महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन्।

महाधिवेशनको उद्घाटन आइतबार असोज १८ गते काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चमा हुनेछ। वि.सं. २००२ पुस २८ देखि माघ ३ गतेसम्म भएको दोस्रो विशेष महाधिवेशनपछि कांग्रेसले खुलामञ्चमा महाधिवेशन आयोजना गर्न लागेको हो।

‘नयाँ कांग्रेस, नयाँ संकल्प’ मूल नाराका साथ हुने महाधिवेशनमा ५० हजारभन्दा बढी युवासहित ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने प्रवक्ता चालिसेले बताए।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया सुरु भइसकेको छ। प्रतिनिधिहरूले दर्ताका लागि ३ हजार ५ सय रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

यसपटक पहिलोपटक ३५ वर्षमुनिका युवा, लोकतन्त्र सेनानी, श्रमिक, पेसागत समूह तथा प्रवासमा रहेका नेपालीलाई समेत केन्द्रीय समितिमा प्रतिनिधित्वको अवसर प्रदान गरिएको कांग्रेसले जनाएको छ।

प्रतिनिधिहरूको आवास व्यवस्थापनका लागि प्रत्येक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट संयोजक तोकिएको छ। आवाससम्बन्धी जानकारी ह्वाट्सएप, एआई नम्बर र एसएमएसमार्फत उपलब्ध गराइने आयोजकले जनाएको छ।

महाधिवेशनको उद्घाटन सत्रपछि असोज १९ र २० गते बन्द सत्र सञ्चालन हुनेछ। बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गर्नेछन्। ती प्रतिवेदनमाथि भूगोलका आधारमा प्रतिनिधिलाई समूह विभाजन गरी तीनवटा हलमा डिजिटल बोर्डमार्फत छलफल गराइनेछ।

निर्वाचन समितिले असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरेको छ।

महाधिवेशनमा सहभागी प्रतिनिधि तथा शुभेच्छुकका लागि भृकुटीमण्डप, राष्ट्रिय सभागृह र पुरानो बसपार्क क्षेत्रमा निजी सवारी साधन पार्किङको व्यवस्था गरिएको छ। ठूला बसका लागि माइतीघरदेखि भद्रकाली खण्डको एक लेन तोकिएको छ।

सूचना, सञ्चार तथा प्रविधि समितिका संयोजकसमेत रहेका प्रवक्ता चालिसेका अनुसार महाधिवेशनका गतिविधिबारे नियमित जानकारी दिन हरेक दिन मिडिया सेन्टरबाट मिडिया ब्रिफिङ गरिनेछ।

831313147_1555335819698626_6159733578322082769_n
833162553_1119052177441919_4499033047353451789_n