विदेश र अन्तरजिल्लाबाटै मतदानको व्यवस्था गर्न आयोगले २४ दलसँग माग्यो राय

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका तथा आफ्नो स्थायी ठेगानाभन्दा बाहिर अस्थायी बसोवास गरिरहेका मतदातालाई मतदानको अवसर उपलब्ध गराउने विषयमा २४ राजनीतिक दलसँग राय लिएको छ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार निर्वाचन तथा राजनीतिक दल व्यवस्थापनसँग सम्बन्धित विषयमा सरकारका तीनै तहमा प्रतिनिधित्व भएका राजनीतिक दलसँग छलफल गरिएको हो। कार्यक्रममा आयोगले निर्वाचनका विभिन्न विषयमा प्रस्तुतीकरणसमेत गरेको थियो।
आयोगका अनुसार छलफलमा विशेषगरी निर्वाचनमा बढीभन्दा बढी मतदाताको सहभागिता सुनिश्चित गर्ने, बदर मत न्यूनीकरण गर्ने, मतदाता नामावलीलाई शुद्ध र अद्यावधिक बनाउने तथा विदेश र अन्तरजिल्ला मतदानको व्यवस्था गर्ने विषयमा राजनीतिक दलको धारणा लिइएको थियो।
नेपालको संविधानले नागरिकलाई मतदानको अधिकार प्रदान गरे पनि स्थायी ठेगानाभन्दा बाहिर अस्थायी रूपमा बसोवास गरिरहेका नागरिकले हाल सम्बन्धित निर्वाचन क्षेत्रमै पुगेर मतदान गर्नुपर्ने अवस्था छ। त्यस्तै, विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार प्रयोगसम्बन्धी व्यवस्था पनि व्यवहारमा चुनौतीपूर्ण रहँदै आएको छ। आयोगले यी विषयमा सम्भावित व्यवस्थाबारे राजनीतिक दलसँग छलफल अघि बढाएको हो।
छलफलमा निर्वाचनमा सूचना प्रविधिको प्रयोग, निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन, निर्वाचन खर्च न्यूनीकरण, मतदाता शिक्षा, मतदाता नामावली तयारी तथा राजनीतिक दलसम्बन्धी ऐनअनुसार दलहरूले गर्नुपर्ने कार्यलगायत समग्र निर्वाचन सुधारका विषयमा पनि विचार–विमर्श भएको आयोगले जनाएको छ।
निर्वाचनमा प्रविधिको प्रयोग गर्दा निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा असर नपर्ने सुनिश्चितताका लागि विज्ञको सुझाव लिएर आवश्यक अध्ययनपछि मात्रै अघि बढ्नुपर्ने धारणा दलहरूले राखेका छन्।
निर्वाचन खर्च न्यूनीकरण, मतदाता शिक्षा तथा मतदाता नामावली तयारीलगायतका काममा राजनीतिक दलहरूले आयोगलाई सहयोग गर्नुपर्ने आयोगले आग्रह गरेको छ।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले आयोग र राजनीतिक दलबीचको आपसी सहयोग तथा सहकार्यबाट लोकतान्त्रिक पद्धतिअनुसार निर्वाचनका सबै पक्षमा समयानुकूल सुधार गर्न सकिने बताए। उनले निर्वाचन सुधारका विषयमा राजनीतिक दलबाट उल्लेखनीय सहयोग प्राप्त भइरहेको र आगामी दिनमा पनि सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे।
कार्यक्रममा निर्वाचन आयुक्तहरू डा. जानकी कुमारी तुलाधर, सगुन शमशेर जबरा, गुरुप्रसाद वाग्ले, डा. राजीव सुब्बा तथा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईलगायतको उपस्थिति थियो।



प्रतिकृया दिनुहोस्