ओलीको निर्देशन : रिसाउने बानी छ भने घरको खोपामा राख्नुस्, जनताको सेवामा लाग्नुस्

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरूलाई व्यक्तिगत रिस, आक्रोश र खराब आचरण त्यागेर जनताको सेवामा केन्द्रित हुन निर्देशन दिएका छन्।
शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेता भएपछि व्यक्तिगत स्वभावलाई पार्टीको जिम्मेवारीभन्दा माथि राख्न नहुने बताएका हुन्।
नवनियुक्त केन्द्रीय सदस्यहरूलाई बधाई दिँदै ओलीले पार्टीले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न सम्पूर्ण सामर्थ्य प्रयोग गर्न आग्रह गरे। उनले भने, ‘पार्टीले तोकेको जिम्मेवारीमा जानुहुनेछ र जिम्मेवारी पूरा गर्न सम्पूर्ण सामर्थ्य प्रयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।’
ओलीले राजनीतिक यात्रामा कहिलेकाहीँ पार्टीले धक्का खान सक्ने भए पनि त्यसबाट उठेर अघि बढ्न सकिने बताए। उनले नेताहरू आदर्श र अनुकरणीय व्यक्तिका रूपमा स्थापित हुनुपर्नेमा जोड दिए।
‘हामी आदर्श व्यक्तिका रूपमा स्थापित हुनुपर्छ। गलत आनीबानी, आचरण लिँदै नलिनुस्,’ ओलीले भने, ‘नेकपा एमालेको आचरण पवित्र र शुद्ध हुनुपर्छ। बानी राम्रो हुनुपर्छ र नमुनायोग्य हुनुपर्छ।’
नेताहरूको व्यक्तिगत व्यवहारप्रति संकेत गर्दै ओलीले रिसाउने स्वभावलाई समेत त्याग्नुपर्ने बताए। ‘मेरो त रिसाउने बानी छ भनेर नेता भएपछि पाइँदैन,’ उनले भने, ‘रिसाउने बानी घरको खोपामा राख्नुस्।’
उनले पार्टीका नेता तथा कार्यकर्ताको आचरणले समग्र एमालेको छवि र जनतासँगको सम्बन्धमा प्रभाव पार्ने भन्दै जिम्मेवारीअनुसारको व्यवहार गर्न आग्रह गरे।
असोजको पहिलो साता सम्पन्न केन्द्रीय कमिटी बैठकबाट मनोनीत ३३ केन्द्रीय सदस्यलाई ओलीले शुक्रबार पद तथा गोपनीयताको शपथ गराएका हुन्।
शपथ लिनेमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नाथुराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, पाल्देन छोपाङ, विमला घिमिरे, श्रीमाया थकाली, जानुका सिंखडा, बिना बास्तोला र शान्तिलाल महत छन्।
त्यस्तै विनोद पाण्डे, प्रेम दङ्गाल, पुष्पराज श्रेष्ठ, मोहम्मद इस्तियाक राई, कौशिला खत्री, सुरेन्द्र उदास, दीपक खम्बु, जय गोदे, धर्मराज निरौला, प्रदीप यादव, अब्दुल हुसेन, डिबी कार्की, भवानी खापुङ, ददी चाम्लिङ, विनोद पहाडी, रामप्रित पासवान र ध्रुव विष्टले पनि शुक्रबार नै शपथ लिएका छन्।



प्रतिकृया दिनुहोस्