नेपालबाट मनसुन बहिर्गमनको चरणमा, केही दिनमै औपचारिक घोषणा हुने

काठमाडौँ । नेपालबाट यस वर्षको मनसुन बाहिरिने चरणमा पुगेको छ। पश्चिम नेपालबाट मनसुन बहिर्गमनका आवश्यक आधारहरू क्रमशः पूरा हुँदै गएकाले केही दिनभित्रै औपचारिक घोषणा हुनसक्ने मौसमविद् सञ्जीव अधिकारीले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ र बाहिरिने औसत मिति अक्टोबर २ मान्दै आएको छ। यस वर्ष मनसुन असार ५ गते नेपाल भित्रिएको थियो। औसत मितिअनुसार आज मनसुन बाहिरिने दिन भए पनि वास्तविक बहिर्गमन केही दिन तलमाथि हुनसक्छ।
मौसमविद् अधिकारीका अनुसार पश्चिम नेपालमा मनसुन बाहिरिने आवश्यक अवस्थाहरू बन्न थालेका छन्। ती अवस्था एक–दुई दिन निरन्तर रहेपछि महाशाखाले मनसुन बहिर्गमनको औपचारिक घोषणा गर्नेछ।
मनसुन बाहिरिन वायुमण्डलको आर्द्रता घट्नु, पूर्वबाट आउने मनसुनी वायु कमजोर हुँदै पश्चिमी वायु हाबी हुनु तथा वर्षा गराउने प्रणालीमा परिवर्तन आउनु आवश्यक हुन्छ। माथिल्लो वायुमण्डलको अवस्था र सबट्रपिकल जेट स्ट्रिमको प्रभावलाई समेत निगरानी गरिन्छ।
अधिकारीका अनुसार अहिले पश्चिम नेपालमा यीमध्ये अधिकांश आधार पूरा हुने क्रममा छन्। त्यसैले मनसुन औसत मितिभन्दा धेरै ढिलो बाहिरिने अवस्था देखिएको छैन।
हाल देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव छ। देशभर आंशिक बदली रहेको छ भने बागमती प्रदेशको तराईका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मध्यमसम्म तथा अन्य केही पहाडी र तराई भूभागमा हल्का वर्षाको सम्भावना छ।
आज राति पनि कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागमा बदली रहनेछ। कोशी, बागमती र गण्डकीका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मनसुन बाहिरिएपछि पनि वर्षा पूर्ण रूपमा रोकिने छैन। पश्चिमी वायु वा स्थानीय मौसम प्रणालीका कारण वर्षा हुनसक्ने मौसमविद् अधिकारीले बताएका छन्। उनका अनुसार अहिले देशका अधिकांश स्थानमा वर्षाको सम्भावना न्यून छ भने पर्सितिर वर्षाको गतिविधि केही बढ्नसक्ने भए पनि ठूलो वर्षाको सम्भावना छैन।



प्रतिकृया दिनुहोस्