October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

देउवा पक्षको समानान्तर महाधिवेशन आजदेखि, देशभर वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनलाई लिएर संस्थापन र देउवा पक्षबीच समानान्तर गतिविधि सुरु भएको छ । पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत आजदेखि देशभर वडा अधिवेशन गर्दैछ ।

संस्थापन पक्षले असोज १८ गतेदेखि महाधिवेशन गर्ने तयारी गरिरहेका बेला देउवा पक्षले पनि छुट्टै कार्यतालिका बनाएर आफ्नो महाधिवेशन प्रक्रिया अघि बढाएको हो ।

देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म आफ्नो महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ । त्यसअघि असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका बनाइएको छ ।

देउवा पक्षका नेता किरणराज पौडेलका अनुसार ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृत खटाइसकिएको छ । वडा अधिवेशनका लागि ५६ जिल्लामा निर्वाचन संयोजकसमेत पठाइएको छ ।

कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै तत्काल महाधिवेशन गर्न नहुने अडान लिँदै आएको देउवा पक्षले संस्थापन पक्षले महाधिवेशन प्रक्रिया अघि बढाएपछि समानान्तर रूपमा आफ्नो प्रक्रिया अघि बढाएको हो ।

देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै पार्टीको आधिकारिक कार्यसमिति रहेको दाबी गर्दै संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन ।

यसैबीच, देउवाले सभापतिकै हैसियतमा अपिल जारी गर्दै देशभरका ६ हजार ७ सय ४३ वडामा आजदेखि सुरु हुने अधिवेशनमा उत्साहका साथ सहभागी हुन नेता, कार्यकर्ता र क्रियाशील सदस्यलाई आग्रह गरेका छन् ।

देउवाले करिब आठ दशक लामो इतिहास बोकेको कांग्रेसका लागि १५औँ महाधिवेशन महत्वपूर्ण रहेको उल्लेख गर्दै पार्टीभित्रका आन्तरिक मतभेद महाधिवेशनमार्फत समाधान गरी कांग्रेसलाई थप मजबुत र एकढिक्का बनाउनुपर्ने बताएका छन् ।

देउवा पक्षीय महाधिवेशन आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाले पनि वडा तहदेखि नै संगठनलाई बलियो, अनुशासित र जनमुखी बनाउनुपर्ने भन्दै अधिवेशनमा सक्रिय सहभागिताका लागि नेता–कार्यकर्तालाई अपिल गरेका छन् ।