सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, प्रतिनिधिसभामा ६ विधेयक पेस हुने

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे तथा राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ।
त्यस्तै, महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ सभासमक्ष प्रस्तुत गर्नेछिन्।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले पनि चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। उनले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ पेस गर्नेछिन्।
यसैबीच, राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री शाहले ‘प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यक्रम रहेको छ।



प्रतिकृया दिनुहोस्