October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

जबरालाई आफन्तको जिम्मा लगाएर पठाइयो, ‘सुरक्षा खतरा’बारे प्रहरी अझै मौन

काठमाडौं । महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आफन्तको जिम्मा लगाएर पठाइएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जबरालाई आफन्तको जिम्मा लगाइएको पुष्टि गरे।

आइतबार बिहान करिब ३ बजे जबरा र उनका परिवारका सदस्यहरू सुतिरहेका बेला प्रहरी उनको महाराजगञ्जस्थित निवासमा पुगेको थियो। प्रहरीले जबरालाई आफू सुरक्षा खतरा रहेको जानकारी गराउँदै सुरक्षित स्थानमा लैजान खोजेको जनाएको थियो।

तर जबराले आफूलाई त्यस्तो कुनै सुरक्षा खतराबारे जानकारी नभएको बताएका थिए। उनले आफूलाई घरबाट अन्यत्र लैजानुको साटो निवासमै थप सुरक्षाकर्मी खटाइदिन प्रहरीसँग आग्रह गरेका थिए।

प्रहरीले जबरालाई औपचारिक रूपमा पक्राउ गरेको हो कि सुरक्षाका लागि नियन्त्रणमा लिएको हो भन्ने विषयमा भने स्पष्ट जानकारी दिएको छैन। सुरुमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको पुष्टि गरे पनि पछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुरक्षा चुनौतीका कारण उनलाई सुरक्षित स्थानमा लगिएको बताएको थियो।

तर प्रहरीले जबरालाई के कारण सुरक्षा खतरा थियो, खतरा कसबाट वा कस्तो प्रकृतिको थियो र त्यसका लागि उनलाई राति घरबाटै नियन्त्रणमा लिएर सुरक्षित स्थानमा लैजानुपर्ने अवस्था किन आयो भन्नेबारे अहिलेसम्म विस्तृत विवरण सार्वजनिक गरेको छैन।

त्यस्तै, जबराविरुद्ध कुनै आपराधिक अनुसन्धान वा मुद्दा अघि बढाइएको हो कि होइन भन्ने विषय पनि प्रहरीले स्पष्ट पारेको छैन। यसले उनको नियन्त्रणको कानुनी आधार र प्रहरीको कारबाहीबारे थप प्रश्न उठाएको छ।

जबरालाई आफन्तको जिम्मा लगाएर पठाइएपछि अब प्रहरीले उनलाई नियन्त्रणमा लिनुको कारण र भनिएको ‘सुरक्षा चुनौती’बारे औपचारिक रूपमा स्पष्ट पार्ने अपेक्षा गरिएको छ।