धनगढीमा ‘नौ रङ्ग सुदूरको तरङ्ग’ समूह नृत्य प्रतियोगिता हुँदै

धनगढी । सुदूरपश्चिमको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले धनगढीमा ‘नौ रङ्ग सुदूरको तरङ्ग’ खुला समूह नृत्य प्रतियोगिता आयोजना हुने भएको छ।
द प्यासन अफ डान्सको आयोजनामा आगामी असोज १० गते शनिबार धनगढीको उत्तरबेहडीस्थित रिद्धि सिद्धि प्यालेसमा प्रतियोगिता हुने भएको हो। प्रतियोगिता बिहान १० बजेदेखि सुरु हुनेछ।
आयोजक द प्यासन अफ डान्सका सञ्चालक अनिल खत्रीका अनुसार सुदूरपश्चिमका लोकप्रिय तथा रैथाने नाचको संरक्षण, प्रवद्र्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामा स्थानीय तथा रैथाने नाचलाई विशेष प्राथमिकता दिइने उनले बताए।
प्रतियोगितामा प्रथम हुने समूहले नगद २० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। द्वितीय हुने समूहले १५ हजार तथा तृतीय हुने समूहले १० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछन्। सान्त्वना पुरस्कारस्वरूप निःशुल्क नृत्य प्रशिक्षणको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी प्रत्येक समूहमा न्यूनतम दुई र अधिकतम १० जना सदस्य हुनुपर्नेछ। नृत्य तथा संस्कृति क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ। कार्यक्रममा दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
प्रतियोगिताको नियमित दर्ता शुल्क दुई हजार रुपैयाँ तोकिएको छ। निर्धारित समयपछि प्रतियोगिता सुरु हुनुभन्दा एक घण्टाअघिसम्म दर्ता गर्ने समूहका लागि दुई हजार पाँच सय रुपैयाँ शुल्क लाग्नेछ।
सहभागी समूहले पुष्पलाल चोकस्थित बुद्ध मन्दिर नजिक रहेको द प्यासन डान्स स्टुडियोमा प्रत्यक्ष उपस्थित भएर दर्ता गर्न सक्नेछन्। उपस्थित हुन नसक्ने टोलीले आयोजकले उपलब्ध गराएको सम्पर्क नम्बरमार्फत अनलाइन दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।
आयोजकले प्रतियोगितालाई सुदूरपश्चिमको मौलिक कला तथा संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तासम्म यसको हस्तान्तरण गर्ने अभियानका रूपमा लिएको जनाएको छ। प्रदेशका विद्यालय, कलेज, नृत्य समूह तथा कलाकारलाई प्रतियोगितामा सहभागी हुन आग्रह गरिएको छ।
प्रतियोगिता सफल बनाउन विभिन्न संघसंस्था तथा प्रायोजकहरूले सहयोग गरिरहेको आयोजकले जनाएको छ।



प्रतिकृया दिनुहोस्