September 23, 2026, Wednesday
२०८३ आश्विन ७

एमाले केन्द्रीय कमिटी बैठक जारी: ११८ नेताले धारणा राखे, बाँकी सदस्यको धारणापछि सचिवालय बस्ने

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज तेस्रो दिन पनि जारी रहने भएको छ। बैठक बिहान ९ बजेबाट ललितपुरको भैंसेपाटीस्थित एक पार्टी प्यालेसमा बस्ने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।

बैठकमा हिजो ११८ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन्। १६ जना केन्द्रीय सदस्य भने बैठकमा अनुपस्थित रहेका छन्। बाँकी केन्द्रीय सदस्यले आज आफ्नो धारणा राख्ने आचार्यले बताए।

केन्द्रीय सदस्यहरूको धारणा राख्ने क्रम सकिएपछि सचिवालय बैठक बस्ने तयारी गरिएको छ। सचिवालय बैठकपछि केन्द्रीय कमिटी बैठक सम्पन्न गर्ने तयारी रहेको आचार्यले जानकारी दिए।

तर सबै केन्द्रीय सदस्यले आजै धारणा राख्न नभ्याए सचिवालय बैठकको समय पनि सर्न सक्ने भएको छ। आचार्यका अनुसार सबै सदस्यले बोलेपछि मात्रै सचिवालय बैठक बस्ने भएकाले सचिवालय बैठक आजै वा भोलि हुन सक्नेछ।

उनका अनुसार सचिवालय बैठक भोलि बस्नुपर्ने अवस्था आए केन्द्रीय कमिटी बैठक पनि एक दिन लम्बिनेछ। एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको भैंसेपाटीस्थित पार्टी प्यालेसमा असोज ५ गतेदेखि सुरु भएको हो। पूर्वनिर्धारित कार्यतालिकाअनुसार बैठक असोज ७ गते सक्ने तयारी थियो।

बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीको पछिल्लो राजनीतिक अवस्था, संगठन र आगामी कार्यदिशालगायत विषयमा धारणा राखिरहेका छन्। सबै सदस्यको धारणा सुनेपछि सचिवालयले बैठकमा उठेका विषय समेटेर आवश्यक निर्णयका लागि प्रस्ताव तयार गर्ने तयारी गरेको छ।