कांग्रेसमा दुई धारको महाधिवेशन : आज ७५३ पालिकामा नेतृत्व छानिँदै, देउवा पक्ष समानान्तर तयारीमा

धनगढी। नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत आज देशभरका ७५३ पालिकामा नेतृत्व चयन गर्दैछ। वडा तहको अधिवेशनपछि हुन लागेको पालिका अधिवेशनबाट एकै दिन ३ हजार ७६५ जना पदाधिकारी चयन हुनेछन्। तर कांग्रेसको महाधिवेशन प्रक्रिया अघि बढिरहँदा पूर्वसभापति शेरबहादुर देउवा पक्ष भने यस प्रक्रियामा सहभागी भएको छैन र छुट्टै महाधिवेशनको तयारीमा छ।
पालिका अधिवेशनबाट प्रत्येक पालिकामा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुनेछन्। कोषाध्यक्ष भने निर्वाचित कार्यसमिति सदस्यमध्येबाट सभापतिले मनोनयन गर्ने व्यवस्था छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार अधिवेशन गराउन लागेको जनाएको छ।
पालिका अधिवेशनअघि कांग्रेसले अधिकांश वडाको नेतृत्व चयन प्रक्रिया पूरा गरिसकेको छ। निर्वाचन समितिका अनुसार केही स्थानबाहेक देशभरका वडामा अधिवेशन सम्पन्न भएको छ। बाढीपहिरो प्रभावित नुवाकोट र धादिङका सबै वडामा समेत मंगलबार अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ।
मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सम्पन्न भइसकेको छ। बाढीपहिरोबाट ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको रसुवामा भने विशेष परिस्थितिका कारण अधिवेशन केही दिनपछि गर्ने तयारी गरिएको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए।
आज चयन हुने ३ हजार ७६५ पदाधिकारीले कांग्रेसको स्थानीय संगठनको नेतृत्व सम्हाल्नेछन्। वडा र पालिका तहबाट अघि बढ्ने सांगठनिक प्रक्रियाले आगामी प्रदेश तथा केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनोटको आधार तयार गर्ने भएकाले पालिका अधिवेशनलाई महाधिवेशनको शक्ति संरचना निर्माणको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।
तर यहीबीच कांग्रेसको महाधिवेशन प्रक्रिया दुई छुट्टाछुट्टै कार्यतालिकामा अघि बढेको छ। सभापति गगन थापा नेतृत्वको पक्षले असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि बढाइरहेको छ भने देउवा पक्षले असोज १५ गतेदेखि छुट्टै वडा अधिवेशन सुरु गरी मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
देउवा पक्षले संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियामा सहभागी नहुन नेता–कार्यकर्तालाई आग्रह गर्दै आएको छ। पूर्वसभापति देउवाले विशेष महाधिवेशनबाट आएको वर्तमान केन्द्रीय कार्यसमितिको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यसको अन्तिम निरूपणअघि अघि बढाइएको महाधिवेशन प्रक्रिया विधि, विधान र कानुनी सिद्धान्तविपरीत रहेको दाबी गरेका छन्।
देउवा पक्षले आफ्नो छुट्टै कार्यतालिकाअनुसार असोज १५ गते वडा, असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने र त्यसपछि जिल्ला तथा प्रदेश अधिवेशन गर्दै मंसिर २१–२३ गते केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ।
यसरी कांग्रेसमा एकातिर संस्थापन पक्षले आज पालिका अधिवेशनमार्फत आफ्नो महाधिवेशन प्रक्रिया अघि बढाइरहेको छ भने अर्कोतिर देउवा पक्षले समानान्तर संगठनात्मक प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ। सर्वोच्च अदालतमा कांग्रेसको विशेष महाधिवेशन तथा आधिकारिकतासम्बन्धी विवादसमेत विचाराधीन रहेकाले पार्टीको महाधिवेशन प्रक्रिया राजनीतिकसँगै कानुनी विवादमा पनि जोडिएको छ।
आजको पालिका अधिवेशनबाट स्थानीय तहमा नयाँ नेतृत्व चयन भइरहँदा त्यसको राजनीतिक अर्थ भने तत्कालै निर्वाचित हुने पदाधिकारीको संख्यामा मात्र सीमित छैन। कांग्रेसभित्र दुई फरक महाधिवेशन कार्यतालिका अघि बढिरहेका बेला स्थानीय संगठनको नेतृत्व कसरी निर्माण हुन्छ भन्ने विषयले आगामी प्रतिनिधित्व र नेतृत्व संरचनामा समेत प्रभाव पार्नेछ।



प्रतिकृया दिनुहोस्