September 23, 2026, Wednesday
२०८३ आश्विन ७

धनगढीमा बजार अनुगमन : सडेको दालदेखि म्याद गुज्रिएको ज्वानोसमेत भेटियो

धनगढी । दशैँ-तिहार नजिकिँदै गर्दा धनगढीमा गरिएको बजार अनुगमनका क्रममा सडेगलेका तथा म्याद गुज्रिएका खाद्यवस्तु फेला परेका छन्। अनुगमन टोलीले विभिन्न पसल तथा गोदामबाट बरामद खाद्यवस्तु तत्काल नष्ट गरेको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीको अगुवाइमा मंगलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, वाणिज्य तथा आपूर्ति कार्यालय र धनगढी उपमहानगरपालिकाको संयुक्त टोलीले धनगढीका विभिन्न किराना पसल तथा गोदाममा अनुगमन गरेको हो।

टोलीले धनगढी मेनरोडस्थित महाबिर किराना पसल, दक्षिणकाली मार्गस्थित नवल जनरल सप्लायर्स, जय दुर्गे एग्रो प्याकेजिङ तथा बैयाबेहडीस्थित राघव इम्पेक्समा अनुगमन गरेको थियो।

वाणिज्य तथा आपूर्ति कार्यालयका निमित्त प्रमुख तारामान रावलका अनुसार महाबिर किराना पसलमा सडेको फर्सीको बीउ र बदाम भेटिएको थियो। प्याकिङका लागि घाममा सुकाइरहेको अवस्थामा भेटिएका ती खाद्यवस्तु तत्काल नष्ट गरिएको उनले बताए।

बैयाबेहडीस्थित राघव इम्पेक्सबाट करिब २७ किलो सडेको दाल बरामद भएको थियो। उक्त दाल पनि अनुगमन टोलीले नष्ट गरेको छ। यस्तै, नवल जनरल सप्लायर्समा म्याद गुज्रिएको ज्वानो फेला परेपछि त्यसलाई समेत नष्ट गरिएको रावलले जानकारी दिए।

अनुगमनका क्रममा केही व्यवसायीले फर्म दर्ताको प्रमाणपत्र पसलमा नराखेको तथा गोदाममा पर्याप्त सरसफाइ नभएको पाइएको छ। खाद्यवस्तु जथाभावी भण्डारण गरिएको समेत भेटिएको टोलीले जनाएको छ।

पहिलोपटक यस्ता कैफियत भेटिएका व्यवसायीलाई सचेत गराउँदै कमीकमजोरी सुधारका लागि १५ दिनको समय दिइएको छ। तोकिएको अवधिमा सुधार नगरे वा पुनः उस्तै कमजोरी दोहोरिए कानुनबमोजिम कारबाही गरिने वाणिज्य तथा आपूर्ति कार्यालयले जनाएको छ।

चाडपर्वका बेला उपभोग्य वस्तुको माग बढ्ने भएकाले कालोबजारी, म्याद गुज्रिएका तथा सडेगलेका खाद्यवस्तुको बिक्री र उपभोक्ता ठगी नियन्त्रणका लागि बजार अनुगमनलाई निरन्तरता दिइने प्रशासनले जनाएको छ।

प्रशासनले उपभोक्तालाई खाद्यवस्तु खरिद गर्दा उत्पादन तथा उपभोग्य मिति, मूल्य, प्याकेजिङ र गुणस्तर जाँच गर्न आग्रह गरेको छ। म्याद गुज्रिएका, सडेगलेका वा अखाद्य वस्तु बिक्री भइरहेको भेटिए सम्बन्धित निकायमा जानकारी गराउनसमेत आग्रह गरिएको छ।