September 23, 2026, Wednesday
२०८३ आश्विन ७

परम्परा तोड्दै अमेरिका उडे प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्। प्रधानमन्त्रीका रूपमा आफ्नो पहिलो विदेश भ्रमणमा निस्कँदा शाहले विगतमा अभ्यास हुँदै आएका औपचारिकता र परम्परागत शैलीलाई भने फरक ढंगले प्रस्तुत गरेका छन्।

शाह मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको नियमित उडानमार्फत दोहा हुँदै न्यूयोर्कतर्फ प्रस्थान गरेका हुन्। यसपटक विमानस्थलमा विगतमा देखिँदै आएको भव्य बिदाइ, नेपाली सेनाको ‘गार्ड अफ अनर’, रातो कार्पेट तथा मन्त्री, सुरक्षा निकायका प्रमुख र उच्चपदस्थ अधिकारीको ठूलो उपस्थिति देखिएन। प्रधानमन्त्री कार्यालयले पनि भ्रमणमा औपचारिक तामझाम नगर्ने जनाएको थियो।

तर बिदाइको शैलीसँगै शाहको अमेरिका भ्रमणको कूटनीतिक तयारी र प्राथमिकता पनि बहसको विषय बनेको छ। परराष्ट्र मन्त्रालयका अनुसार शाहले असोज ८ गते संयुक्त राष्ट्रसङ्घको महासभाको उच्चस्तरीय बहसलाई सम्बोधन गर्नेछन् भने महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनालसहित उच्चपदस्थ अधिकारी सहभागी छन्।

महासभा विश्वका राष्ट्र तथा सरकार प्रमुखसँग द्विपक्षीय र साइडलाइन भेटवार्ता गर्ने महत्वपूर्ण कूटनीतिक अवसरसमेत हो। तर प्रधानमन्त्री शाहको औपचारिक कार्यतालिकामा महासचिव गुटेरेससँगको भेटबाहेक अन्य उच्चस्तरीय भेटवार्ता प्रमुख रूपमा देखिँदैन। यद्यपि परराष्ट्रमन्त्री खनालले न्यूयोर्कमा विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भ्रमणको तयारी र संसदीय जानकारीको विषयमा समेत प्रश्न उठाइएको छ। परराष्ट्र मन्त्रालयले भने सेप्टेम्बर १८ मै प्रधानमन्त्रीको नेतृत्वमा महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल, सम्बोधनको मिति र भ्रमणसम्बन्धी विवरण सार्वजनिक गरिसकेको थियो। त्यसैले संसद्लाई भ्रमणबारे कस्तो तहमा जानकारी गराइयो भन्ने विषय भने छुट्टै बहसको विषय बनेको छ।

यसबीच नेकपा एमाले विदेश विभागका सदस्य एवं अन्तर्राष्ट्रिय मामिलाका जानकार विष्णु रिजालले प्रधानमन्त्रीको विदेश भ्रमणमा अनावश्यक तामझाम नगरे पनि राज्यको मर्यादा र कूटनीतिक परम्पराको ख्याल गर्नुपर्ने बताएका छन्। उनका अनुसार महासभा विश्वका नेताहरूसँग संवाद गर्ने महत्वपूर्ण अवसर भएकाले प्रधानमन्त्रीको भ्रमणको उद्देश्य, तयारी र अन्तर्राष्ट्रिय भेटघाटबारे पर्याप्त स्पष्टता आवश्यक हुन्छ।

रिजालले संसद्मार्फत जनतालाई भ्रमणको उद्देश्य र प्राथमिकताबारे जानकारी गराउनुपर्ने तथा महत्वपूर्ण राष्ट्रिय मुद्दामा कूटनीतिक परामर्श आवश्यक हुने धारणा राखेका छन्। उनका अनुसार औपचारिकता घटाउनु र राज्यका आवश्यक संस्थागत प्रक्रिया तथा कूटनीतिक अभ्यासलाई बेवास्ता गर्नु फरक विषय हुन्।

शाहको भ्रमण अर्को दृष्टिले पनि महत्वपूर्ण छ। नेपाल पछिल्लो भोटेकोशी–त्रिशूली बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिको पुनर्निर्माणको चरणमा छ। जलवायुजन्य विपद्का कारण नेपालले बेहोर्नुपरेको क्षति, जलवायु न्याय, अन्तर्राष्ट्रिय सहयोग र विपद्पछिको पुनर्निर्माणका विषय महासभामा उठाउने अवसर नेपालसँग छ।

महासभाको यस वर्षको उच्चस्तरीय बहसमा विश्वका विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुख सहभागी भइरहेका छन्। संयुक्त राष्ट्रसङ्घले यस वर्षको बहसको मूल विषय ‘Restoring Trust, Managing Transformation: A United Nations That Delivers for All’ तय गरेको छ। यस्तो अन्तर्राष्ट्रिय मञ्चमा नेपालको राजनीतिक, कूटनीतिक र विपद्सम्बन्धी प्राथमिकता कसरी प्रस्तुत हुन्छ भन्ने विषय भ्रमणको महत्वपूर्ण पक्ष हुनेछ।