April 17, 2026, Friday
२०८३ बैशाख ४

राष्ट्रिय सभा निर्वाचनः सुदूरपश्चिमबाट नेकपाका उम्मेदवार विजयी 

डोटी माघ ९(ई-रैवार)

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत सुदूरपश्चिमबाट नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का दुबै उम्मेदवार विजयी भएका छन् । यहाँ दुई सिटका लागि निर्वाचन भएको थियो । जसमा नेकपाका अन्य(खुला) तर्फका उम्मेदबार तारामान स्वाँर र महिलातर्फका उम्मेदबार शारदा भट्ट निर्वाचित भएका छन् ।

अन्य(खुला)समुहबाट विजयी उम्मेदवार स्वाँरले तीन हजार सात सय २० मतभार प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रताप ठगुन्नाले एक हजार आठ सय ४२ मतभार प्राप्त गरेका छन् । जसमा स्थानीयतर्फतीन जना मतदाताको ५४ मतभार बदर भयो ।

महिलातर्फ विजयी उम्मेदवार भट्टले तीन हजार सात सय ३८ मतभार प्राप्तगर्दा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार तुलसी देवकोटाले एक हजार आठ सय चौपन्न मतभार प्राप्त गरिन् । महिलातर्फ स्थानीय तहका दुईमत(३६ मतभार) बदर भए । यस्तै प्रदेश सभा सदस्यको मतपेटिकामा एकमत बढी भेटिएपछि त्यसलाई बदर मानिएको छ । ‘प्रदेश सभा सदस्यहरुमा ५२ मत खसेको हो,’ मुख्य निर्वाचन अधिकृत काफ्लेले भने,‘महिलातर्फको पेटिकामा ५३ मत भेटिए । जुन पुरुषतर्फको एकमत यो पेटिकामा खसालिएको रहेछ ।’ त्यसलाई बदर मानिएको उनले बताए ।

यस प्रदेशमा ८८ स्थानीय तहका एक सय ७६ प्रमुख÷उपप्रमुख र ५३ जना प्रदेश सभा सदस्यगरी कुल दुईसय २९ जना मतदाता छन् । जसको स्थानीय तहका प्रमुख÷उपप्रमुखको १८ का दरले गरी तीन हजार एक सय ६८ र प्रदेश सभाका  ५३ जना सांसदको ४८ का दरले गरी दुई हजार पाँच सय ४४ गरी कुल पाँच हजार ७ सय १२ मतभार रहेको छ ।

जसमा दुई मतबाहेक सबै खसेको मुख्य निर्वाचन अधिकृत काफ्लेले जनाए । उनका अनुसार बझाङको शैपाल गाउँपालिकाकी उपाध्यक्ष कल्पना बोहरा र  प्रदेश सभा सदस्य मिना साउँदको मत खसेन् । २०७४ को राष्ट्रिय सभा निर्वाचनमा मतदान नगरेका राष्ट्रिय जनता पार्टीका दुईजना सांसदहरु  कृष्ण बहादुर चौधरी र मालमती राना थारुले भने यसपटक मतदान गरेका छन् ।