September 25, 2026, Friday
२०८३ आश्विन ९

डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा वीरेन्द्र शाह

दिपायल । डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित भएका छन्। आइतबार भएको निर्वाचनमा २८० मत प्राप्त गर्दै शाह अध्यक्षमा निर्वाचित भएका हुन्।

शाहका निकटतम प्रतिस्पर्धी दीपकबहादुर खड्काले २११ मत प्राप्त गरे। अध्यक्ष पदमा तीन जना प्यानलसहित र एक जना स्वतन्त्र रूपमा गरी चार जनाले उम्मेदवारी दिएका थिए। प्रेम भण्डारीले १९७ र एकल उम्मेदवार इन्द्रबहादुर कुँवर ‘आईजङ्ग’ले ९२ मत प्राप्त गरे।

निर्वाचन अधिकृत कैलाश साउँदका अनुसार अध्यक्षमा निर्वाचित शाहको प्यानलबाट चार जना पदाधिकारीसमेत निर्वाचित भएका छन्।

संघको वरिष्ठ उपाध्यक्षमा शाह प्यानलकै दीर्घबहादुर साउँद ३५२ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी लोकबहादुर खड्काले २१० र चन्द्रराज पाठकले १८१ मत प्राप्त गरे। खड्का दीपक खड्का प्यानल र पाठक प्रेम भण्डारी प्यानलबाट उम्मेदवार बनेका थिए।

उद्योग उपाध्यक्षमा शाह प्यानलका रमेश बोहरा ३८६ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी नन्दराम भण्डारीले ३०७ मत प्राप्त गरे। भण्डारी प्रेम भण्डारी प्यानलबाट उम्मेदवार थिए।

वाणिज्य उपाध्यक्षमा भने प्रेम भण्डारी प्यानलका लालबहादुर कठायत २७९ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी गणेश बोहराले २५६ र लोकबहादुर देउवाले १९८ मत प्राप्त गरे। बोहरा दीपक खड्का प्यानल र देउवा शाह प्यानलबाट उम्मेदवार बनेका थिए।

महासचिवमा रोशन कठायत ३५० मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी जयबहादुर शाहीले १९५ र रमेश जोराले १९३ मत प्राप्त गरे। कठायत प्रेम भण्डारी, शाही दीपक खड्का र जोरा वीरेन्द्र शाह प्यानलबाट उम्मेदवार बनेका थिए।

कोषाध्यक्षमा शाह प्यानलका प्रकाशबहादुर रावल ४७९ मतसहित निर्वाचित भए। उनले आफ्ना प्रतिस्पर्धी अमित अमात्यलाई पराजित गरे। अमात्यले २१८ मत प्राप्त गरेका थिए।

सचिव पदमा भने झिनो मतान्तरमा दीपक कलेल निर्वाचित भए। उनले २६२ मत प्राप्त गर्दा नन्दनसिंह कार्कीले २५६ मत पाए। सचिवकी अर्की उम्मेदवार पवित्रा कुमारी कुँवरले २३५ मत प्राप्त गरिन्।

संघको १२ सदस्यीय कार्यसमितिका सबै सदस्य भने मनोनयन दर्ताकै दिन निर्विरोध निर्वाचित भएका थिए। निर्विरोध निर्वाचित सदस्यमध्ये शाह प्यानलका सात जना रहेका छन्।