November 5, 2026, Thursday
२०८३ कार्तिक २०

देउवा पक्ष समानान्तर महाधिवेशनको तयारीमा, डडेलधुराका ५२ वडामा आज अधिवेशन

धनगढी । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर महाधिवेशनको तयारी गरिरहेका बेला देउवाको गृहजिल्ला डडेलधुरामा भने पार्टीको नियमित महाधिवेशन प्रक्रिया अघि बढेको छ।

डडेलधुरामा आइतबार जिल्लाका सातवटै स्थानीय तहअन्तर्गतका ५२ वडामा वडा अधिवेशन हुँदैछ। जिल्ला सभापति भीमबहादुर साउँदका अनुसार सबै वडामा अधिवेशनको तयारी पूरा भएको छ।

‘शनिबार कुनै पनि वडामा अधिवेशन भएको छैन, ५२ वटै वडामा आज अधिवेशन हुन्छ,’ साउँदले भने। उनका अनुसार जिल्ला कार्यसमितिले केन्द्रीय निर्वाचन समितिको कार्यतालिकाअनुसार वडा अधिवेशन गर्न मातहतका समितिलाई निर्देशन दिएको छ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शनिबारदेखि वडा अधिवेशन सुरु भएको हो। केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार शनिबार ४४ जिल्लाका ३ हजार ३ सय ९६ वडामा अधिवेशन सम्पन्न भएको छ। ती वडामा नयाँ वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।

आइतबार बाँकी जिल्लाका वडामा अधिवेशन हुँदैछ। ती वडाबाट पनि वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गरिने निर्वाचन समितिले जनाएको छ।

यी अधिवेशनमा देउवा पक्ष सहभागी भएको छैन। देउवा पक्षले संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियाप्रति असहमति जनाउँदै समानान्तर महाधिवेशनको तयारी गरिरहेको छ। तर, देउवाकै गृहजिल्ला डडेलधुरामा भने जिल्ला नेतृत्वले केन्द्रीय निर्वाचन समितिको कार्यतालिकाअनुसार नियमित अधिवेशन अघि बढाएको हो।

बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने परिस्थितिअनुसार वडा अधिवेशनको नयाँ मिति तय गरिने निर्वाचन समितिले जनाएको छ। मधेस प्रदेशको सिराहामा पनि पछि अधिवेशन गर्ने तयारी छ।