सुदूरपश्चिममा‘माघेत्यार’ मनाईदै
डोटी माघ १(ई-रैवार)
यतिबेला हिन्दुधर्मालम्बीहरुले मकरसक्रान्ती(माघेसक्रान्ती) पर्व धुमधामका साथ मनाईरहेका छन् । सबैजसो हिन्दुधर्मालम्बीहरुले माघेसक्रान्ती मनाईरहदा सुदूरपश्चिममा भने यो पर्वसंगै ‘माघेत्यार’को पनि रौनक छ ।
सुदूरपश्चिममा यो पर्व आफ्नै मौलिकताका साथ मनाईन्छ । बिशेषगरी पहाडी समुदायले यो पर्वलाई ‘माघेत्यार’का नामले मनाउने गर्दछन् । यहाँको समुदायमा परम्परागत रुपमा यस पर्वको बिशेष महत्व छ । छुट्टै मौलिकता छ ।
‘त्यार’ डोटेली भाषाको शब्द हो । जसको अर्थ चाडपर्व भन्ने हुन्छ । माघेसंक्रान्तीमा मनाईने भएकाले यसलाई यहाँको समुदायमा ‘माघेत्यार’को नामले सदियौदेखी प्रचलित छ ।
यहाँको समुदायमा पौषको अन्तिम रातको बिशेष महत्व हुन्छ । जसलाई माघ महिनाको स्वागतको रातको रुपमा बुझिन्छ । यसका लागि पौष महिनाभरी नै तयारी गरिएको हुन्छ । समुदाय नजिक पर्ने पबित्र नदी, कुण्ड, तलाउ, कुवा वा पधेँरामा ठुल्ठुला काठका मुडाहरु जम्मा गरिएका हुन्छन् । जसलाई ठुलो चाङ लगाएर राखिन्छ । पुष अन्तिम रात त्यही नजिकै समुदाय भरिकै मानिसहरु जम्मा भएर ‘जाग्राम’ बस्छन् । जहाँ माघेत्यारका लागि पाकेका पकवानहरु बिशेषगरी तरुल, कन्दमूल, तिल, घ्यू, चाकुबाट बनेका परिकारहरु खादै दन्त्यकथा, लोककथा, गाउँखाने कथा सुनाएर रात बिताईने प्रचलन छ । यसबाहेक भजनकिर्तन, लोक देउडा लगायतका खेलहरु खेलिन्छ ।
त्यसपछि बिहान सबेरै त्यही छेउमा रहेको मुडाको चाङमा आगो लगाएर स्नानकर्म गर्दै आगो तापेर जीउ सेक्ने प्रचलन रहीआएको छ । यसबाट हिउँदे जाडो भगाउने, बिभिन्न रोगब्याधिहरुको अन्त हुने लगायतको जनविश्वास रहीआएको पाईन्छ ।
यसैक्रममा माघको पहिलो दिन शिबालय तथा देवालयहरुमा दर्शन गर्ने तथा मेला लाग्ने पनि गर्दछन् । पछिल्ला केही बर्षयता पबित्र धाम, नदी तथा कुण्डहरुमा ‘महास्नान’ मेलाहरु समेत आयोजना हुन थालेका छन् । यस्तोेमा दिपायलमा रहेको बासुधारा क्षेत्र, डोटीकै शिखर नगरपालिकाको ‘गहनान’(गंगास्नान), डडेल्धुराको परशुरामधाम, कैलालीको गोदावरी क्षेत्रमा यस्ता महास्नान मेलाहरु लाग्ने गरेका छन् ।
माघेसंक्रान्तीमा पबित्र स्थानमा गएर स्नान गर्नाले पुण्यप्राप्ती हुने मान्यता छ । ‘धर्मग्रन्थहरुमा माघ महिनालाई धर्मिक महिना मानिएको छ,’ पण्डित केशबराज ओझा भन्छन्,‘यसैले माघ महिनामा पवित्र तिर्थस्थलमा गएर स्नान गर्दा पुण्यप्राप्ती हुने मान्यता छ । यसमा पनि माघे संक्रान्ती, माघ शुक्लपक्ष द्वादशी र माघ शुक्ल पक्षको पुर्णिमा झन बिशेष मानिन्छ ।’
यसबाहेक माघेत्यारमा बिबाहिता छोरीहरुलाई घरमा बोलाएर मिठो मसिनो खुवाउने प्रचलन छ । माघेसंक्रान्तीकै दिनबाट पुरै माघ महिनाभरी छोरीचेलीहरुलाई भेट्न जाने, उनीहरुलाई कोशेली स्वरुप आमाको हातको पकवानहरु दिने प्रचलन पनि छ । यसलाई ठाउँ अनुसार ‘त्यार’, ‘माघेत्यार’ ‘त्यारमाणो’ लगायतका नामले चिनिन्छ । बिशेषगरी यो कोशेली आमाले पकाउने र दाईभाई दिन जाने प्रचलन हुन्छ । यसलाई छोरीचेलीको हकको रुपमा पनि लिईन्छ । यसका लागि बिबाहिता छोरीचेली बाटो कुरेर बसेका हुन्छन् ।
माघ एकगतेकै दिनबाट सुर्य उत्तरायण लाग्ने पनि मान्यता छ । माघेसंक्रान्तीको दिनबाट चिसो घट्दै जाने र गर्मीयाम शुरु हुने मान्यता छ ।





प्रतिकृया दिनुहोस्