September 22, 2026, Tuesday
२०८३ आश्विन ६

आज संविधान दिवस : अधिकार स्थापित, कार्यान्वयनमा अझै प्रश्न

काठमाडौँ । आज असोज ३ गते, संविधान दिवस तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाली जनताको लामो संघर्ष, बलिदान र राजनीतिक परिवर्तनको उपलब्धिका रूपमा संविधानसभाबाट २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो।

दोस्रो संविधानसभा निर्वाचनपछि गठित संविधानसभाले लामो छलफल, बहस र विवादपछि संविधान निर्माण गरेको थियो। २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए।

त्यसयता हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाइँदै आएको छ। दिवसका अवसरमा सरकारले काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा मूल समारोह आयोजना गर्दै आएको छ।

यस वर्षको मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको छ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न सांस्कृतिक समूह तथा विद्यार्थीहरूले मार्चपास, झाँकी र सांस्कृतिक प्रस्तुति गरेका छन्। कार्यक्रममा संविधानको महत्व, राष्ट्रिय एकता तथा लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणसँग सम्बन्धित सन्देश प्रस्तुत गरिएको छ।

संविधान दिवसका अवसरमा प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, विभिन्न संघसंस्था तथा शैक्षिक संस्थाहरूले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन्। कतिपय स्थानमा प्रभातफेरी, अन्तरक्रिया, दीप प्रज्ज्वलन, रक्तदान, सरसफाइ तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएका छन्।

दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश जारी गर्दै संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण, राष्ट्रिय एकता र समृद्धिका लागि जिम्मेवार भएर अघि बढ्न आह्वान गरेका छन्।

२०७२ को संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको बाँडफाँट गरेको छ। संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, मौलिक हक, सामाजिक न्याय, स्वतन्त्र न्यायपालिका र आवधिक निर्वाचनलगायतका व्यवस्था संविधानका प्रमुख आधार हुन्।

संविधान जारी भएको एक दशक पूरा भइसकेको सन्दर्भमा यस वर्षको संविधान दिवसलाई संविधानका उपलब्धि, कार्यान्वयनको अवस्था र आगामी चुनौतीबारे समीक्षा गर्ने अवसरका रूपमा समेत हेरिएको छ। संविधानमा व्यवस्था गरिएका नागरिकका अधिकार तथा राज्यका दायित्वलाई व्यवहारमै प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने विषय दिवसका अवसरमा थप बहसमा आउने गरेको छ।