September 11, 2026, Friday
२०८३ भाद्र २६

भोटेकोसी बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड पठाउने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोसी बाढीपीडितका लागि २ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरेको छ।

मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले प्रदेश सरकारले यसअघि गरेको निर्णय कार्यान्वयन गर्दै उक्त रकम निकासा गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकले सुदूरपश्चिममा बाढी तथा अन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारी प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ। सम्भावित विपद्का बेला उद्धार, राहत तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन तीनै तहका सरकारबीच समन्वय गरी सम्बन्धित निकायलाई तयारी अवस्थामा राख्ने निर्णय भएको जनाइएको छ।

विपद्का बेला आवश्यक जनशक्ति तथा स्रोतसाधन परिचालन र उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय सुदृढ गर्ने विषयमा समेत बैठकमा छलफल भएको थियो।