September 11, 2026, Friday
२०८३ भाद्र २६

आज युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती, साहित्यिक कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौं । नेपाली साहित्यका राष्ट्रिय विभूति तथा युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी मनाइँदैछ।

नेपाली साहित्यको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएका भट्टको जन्म १९२३ साल भाद्र कृष्ण कुशेऔँसीका दिन भएको थियो। उनी १९५३ साल भाद्र कृष्ण कुशेऔँसीकै दिन ३० वर्षको उमेरमा दिवंगत भएका थिए।

छोटो जीवनकालमै नेपाली साहित्यमा उल्लेखनीय योगदान दिएका भट्टले आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए। नेपाली साहित्यमा गजल परम्पराको विकास र साहित्यिक पत्रकारिताको विस्तारमा समेत उनको महत्वपूर्ण भूमिका रहेको मानिन्छ।

भट्टकै पहलमा नेपालमा छापाखाना भित्रिएको र त्यसैको माध्यमबाट नेपाली पत्रकारिताको संस्थागत सुरुवात भएको साहित्यिक इतिहासमा उल्लेख छ। त्यसैले उनलाई साहित्यकार मात्र नभई नेपाली पत्रकारिताको विकासका महत्वपूर्ण अभियन्ताका रूपमा समेत स्मरण गरिन्छ।

जन्मजयन्तीका अवसरमा नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठान लगायत विभिन्न साहित्यिक संघसंस्थाले आज विभिन्न कार्यक्रम आयोजना गर्दैछन्।

नेपाली शिक्षा परिषद्ले शुक्रबार दिउँसो २ बजे कवि सम्मेलन तथा ‘युवा वर्ष मोती पुरस्कार’ वितरण कार्यक्रम आयोजना गर्ने परिषद्की अध्यक्ष रमा शर्माले जानकारी दिइन्।

मोतीराम भट्टको जन्मजयन्ती नेपाली साहित्यको विकासमा उनको योगदान, सिर्जनशीलता र छोटो जीवनमा उनले स्थापित गरेको साहित्यिक विरासतको स्मरण गर्ने अवसरका रूपमा मनाइँदै आएको छ।