October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् । महिनौँदेखि सुल्झिन नसकेको खाना पकाउने ग्यासको अभाव अन्ततः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादवको कुर्सी ढल्ने कारण बनेको हो।

चुलो बाल्न ग्यास नपाएर उपभोक्ता हैरान भइरहेका बेला आपूर्ति व्यवस्थापन गर्न नसकेको आरोप र बढ्दो राजनीतिक दबाबबीच यादवले बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी छन्।

यादवको सचिवालयले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको पुष्टि गरेको छ। ग्यास अभाव चर्किँदै गएपछि मन्त्रालयको आपूर्ति व्यवस्थापनमाथि प्रश्न उठ्दै आएको थियो। समस्या समाधान गर्न नसकेको भन्दै मन्त्री यादवमाथि जनस्तरदेखि राजनीतिक वृत्तसम्म दबाब बढेको थियो।

बजारमा ग्यास सहज नहुँदा उपभोक्ताले घण्टौँ लाइन बस्नुपर्ने र सिलिन्डर पाउन कठिन हुने अवस्था सिर्जना भएको थियो। तर, संकट समाधानका लागि प्रभावकारी पहल हुन नसकेपछि सरकारको आपूर्ति व्यवस्थापनमाथि नै प्रश्न उठ्न थालेको थियो।

त्यसमाथि यादवले बुधबार संसदीय समितिको बैठकमा ग्यास अभावको दोष उद्योगीमाथि थोपरेकी थिइन्। उनले मन्त्रालयका कर्मचारीले समेत आफूलाई साथ नदिएको गुनासो गरेपछि समस्या झन् विवादित बनेको थियो।

उद्योगीप्रति आक्रामक रूपमा प्रस्तुत हुँदै उनले ‘पाता कस्ने’देखि लाइसेन्स खारेज गर्नेसम्मको चेतावनी दिएकी थिइन्। मन्त्रीको यस्तो अभिव्यक्तिपछि व्यवसायीहरू असन्तुष्ट बने र प्रधानमन्त्रीको कार्यालयमा समेत सम्पर्क गरेर अभिव्यक्ति फिर्ता नलिए सशक्त आन्दोलनमा जाने चेतावनी दिएका थिए।

यससँगै ग्यास आपूर्तिको समस्या केवल बजार व्यवस्थापनको विषयमा सीमित रहेन। उपभोक्ताको चुलोमा ग्यास नपुग्नु, मन्त्रालय र उद्योगीबीच बढ्दो टकराव तथा मन्त्रीकै सार्वजनिक अभिव्यक्तिले सरकारमाथि थप राजनीतिक दबाब सिर्जना गर्‍यो।

संकटको समयमा मन्त्रालय, कर्मचारी र निजी क्षेत्रबीच प्रभावकारी समन्वय गर्न नसकेको आरोप पनि मन्त्री यादवमाथि लाग्दै आएको थियो। ग्यास अभाव समाधान गर्नुपर्ने दबाबबीच विवाद थप चर्किएपछि उनको राजीनामा राजनीतिक निकासका रूपमा आएको देखिएको छ।