October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

देउवाको दाबी : सर्वोच्चले निस्सा दिएपछि कांग्रेसको आधिकारिकतामा ‘आधा जित’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएसँगै आफ्नो पक्षको आधाभन्दा बढी जित भइसकेको दाबी गरेका छन्।

१३३औँ बीपी जयन्तीका अवसरमा भक्तपुरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै देउवाले सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताए। उनले कांग्रेसको नाम, रुख चिह्न र चारतारे झन्डा आफ्नो समूहले नै पाउने दाबी गरे।

देउवाले पार्टी सभापति गगन थापा पक्षले आफूहरूलाई कांग्रेसको आधिकारिकता नदिन अदालतमा दबाब दिइरहेको आरोप लगाए। यद्यपि विपक्षी समूहले जति प्रयास गरे पनि अन्ततः सत्यको जित हुने उनको भनाइ थियो। ‘सर्वोच्चले पुनरावलोकनका लागि निस्सा दिएको छ, यो हाम्रो आधा विजय हो,’ उनले भने।

विशेष महाधिवेशनको प्रक्रियामाथि पनि देउवाले प्रश्न उठाए। पार्टी विधानमा विशेष अधिवेशनको व्यवस्था भए पनि त्यसका लागि आवश्यक प्रतिनिधिको सनाखतलगायत प्रक्रिया पूरा नगरिएको उनको आरोप छ। आफूलाई जानकारी नै नदिई विशेष महाधिवेशन आह्वान गरिएको भन्दै उनले ‘खल्तीबाट नाम राखेर अधिवेशन बोलाएर हुन्छ ?’ भन्ने प्रश्न गरे।

विशेष महाधिवेशनविरुद्ध आफूहरूले निर्वाचन आयोग र सर्वोच्च अदालतमा मुद्दा दायर गरेको स्मरण गर्दै देउवाले तत्कालीन निर्वाचन आयोगको निर्णयपछि अदालत पुगेको बताए। सर्वोच्चले अहिले पुनरावलोकनका लागि निस्सा दिएको भन्दै उनले यसलाई आफ्नो पक्षका लागि महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे।

न्यायपालिकाले विगतमा आफूलाई पटक–पटक न्याय दिएको उल्लेख गर्दै देउवाले अहिले पनि अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरे। ‘सर्वोच्चले निष्पक्ष रूपमा पुनरावलोकनको निस्सा दिएको छ, त्यसरी नै रुख चिह्न र चारतारे झन्डा नेपाली कांग्रेसको हामीले पाउनेछौँ,’ उनले दाबी गरे।