विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता आवश्यक : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले विपत्तिको समयमा सरकार र प्रतिपक्षको आँखाबाट नभई राष्ट्रिय एकताको भावनाले परिस्थिति हेर्नुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै लामिछानेले बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारले गरिरहेको उद्धार, राहत र पुनर्स्थापनाको प्रयासको प्रशंसा गरे। प्रतिकूल मौसम र सडक अवरोधका बीच उद्धारकर्मीले जोखिम मोलेर गरेको काम प्रशंसनीय रहेको उनको भनाइ छ।
‘विपत्तिमा सरकार र प्रतिपक्षीको आँखाले हेर्नुहुँदैन,’ लामिछानेले भने, ‘राज्यले भग्नावशेष र सुरुङभित्र हराएका नागरिकको प्राण खोजिरहेको छ। यस्तो संवेदनशील समयमा हवाई उद्धार र राहत वितरणमा सरकारले देखाएको सक्रियता प्रशंसनीय छ।’
उनले विपत्तिको समयमा समेत राजनीतिक खिचातानी र एकअर्कालाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै असन्तुष्टि जनाए। ‘अहिले कसलाई कसरी तल खसाल्ने भन्ने खेलमा राजनीतिक रोटी सेक्ने समय होइन,’ उनले भने, ‘अहिले नागरिक बचाउने र भविष्यमा यस्ता विपत्ति दोहोरिन नदिन बलिया संरचनाको खाका कोर्ने समय हो।’
लामिछानेले विपत्तिमा परेका नागरिकलाई होच्याउने, सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने वा साइबर बुलिङ गर्ने कार्य स्वीकार्य नहुने स्पष्ट पारे। रास्वपाको कुनै तहका सदस्य वा पदाधिकारीले विपद्मा परेका नागरिकमाथि अमर्यादित टिप्पणी गरे पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिने उनले चेतावनी दिए।
‘नागरिकको आक्रोश र चित्कारलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई छैन,’ उनले भने।
राज्य कहाँ छ भन्ने प्रश्न उठाउनेहरूलाई जवाफ दिँदै लामिछानेले विपत्तिको समयमा राज्य उद्धार, राहत र पुनर्स्थापनामा सक्रिय रहेको दाबी गरे। उनका अनुसार राज्य अहिले भग्नावशेष र सुरुङमा नागरिकको जीवन खोजिरहेको, सर्वस्व गुमाएका परिवारको सहारा बन्न खटिरहेको तथा बाढीले क्षतिग्रस्त सडक र पुलसँगै नागरिकको टुटेको भरोसा जोड्ने प्रयासमा रहेको छ।
उनले विपत्तिबाट पाठ सिक्दै भविष्यमा यस्ता घटना दोहोरिँदा क्षति कम हुने गरी पूर्वतयारी र सुरक्षित संरचना निर्माणमा ध्यान दिनुपर्नेमा समेत जोड दिए।




प्रतिकृया दिनुहोस्