October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुस्ताङमा २४ घण्टामा ७ पटक भूकम्प, आधाभन्दा बढी घर जोखिममा

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा पछिल्लो २४ घण्टामा ७ पटक भूकम्पको धक्का महसुस भएको छ। लगातार भूकम्प गएपछि ऐतिहासिक तथा पर्यटकीय क्षेत्र लोमान्थाङका स्थानीय त्रसित बनेका छन्।

भूकम्पका कारण गाउँपालिकाभित्रका अधिकांश घरमा चिरा परेको छ भने ५० प्रतिशतभन्दा बढी घर तत्काल बस्नै नमिल्ने गरी उच्च जोखिममा परेको गाउँपालिका अध्यक्ष टसी न्हूर्बू गुरुङले बताएका छन्। उनका अनुसार २० देखि ३० प्रतिशत घर पूर्ण रूपमा बस्न अयोग्य भएका छन्।

सदियौँ पुराना माटोका संरचनाले भरिएको लोमान्थाङमा पुराना र नयाँ दुवै घरमा क्षति पुगेको छ। ‘धेरैजसो घर चिरिएका छन्, अलिबेर अडिएर भूकम्प रह्यो भने सबै गर्ल्यामगुर्लुम ढल्छन्,’ अध्यक्ष गुरुङले भने। हालसम्म मानवीय तथा पशुचौपायाको क्षति भने भएको छैन।

क्षतिको यकिन विवरण संकलन गर्न जनप्रतिनिधि, कर्मचारी, प्राविधिक तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली वडा–वडामा परिचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत न्युटन लम्सालले बताए। टोलीले घर तथा संरचनाको स्थलगत निरीक्षण गरी मुचुल्का उठाउन थालेको छ।

थप पराकम्पन आएमा माटोबाट बनेका बाँकी ऐतिहासिक संरचना समेत भत्किने जोखिम उच्च रहेको गाउँपालिकाले जनाएको छ। क्षतिको प्रारम्भिक विवरण जिल्ला प्रशासनसँगै संघ र प्रदेश सरकारलाई जानकारी गराइएको छ।