October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

रसुवा भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,३६७ पुग्यो, ५ हजार १३२ अझै बेपत्ता

काठमाडौं । रसुवा केन्द्रबिन्दु भएर आएको भोटेकोसी बाढी तथा त्यसपछिको विपद्मा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार बिहान ११ बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विभिन्न जिल्लाबाट १ हजार ३६७ जनाको शव फेला परेको हो।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा ३६३ शव फेला परेका छन्। यस्तै नवलपरासी ९पूर्व०मा २२६, नवलपरासी ९पश्चिम०मा २२२, नुवाकोटमा १९७, रसुवामा १७४, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ शव फेला परेका छन्। काठमाडौंमा उपचारका क्रममा रहेका दुईजनाको समेत मृत्यु भएको छ।

हालसम्म १०२ शवको सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ। सनाखत हुन बाँकी शवका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दुईवटा फोटो, नाता प्रमाणित कागजात र डीएनए नमुना बुझाउन सकिने व्यवस्था गरिएको छ।

विपद्मा ५ हजार १३२ जना अझै बेपत्ता छन्। रसुवाबाट मात्रै २ हजार ८६० जना सम्पर्कविहीन छन्। उनीहरूमा रसुवाका १ हजार ३९३, अन्य जिल्लाका १ हजार २८६, नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२, सरकारी कर्मचारी ७३ तथा बैंक तथा वित्तीय संस्थाका २६ कर्मचारी छन्।

नुवाकोटबाट पनि १ हजार ७८७ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। त्यसमध्ये नुवाकोटका ६५१ र रसुवाबाहेक अन्य जिल्लाका १ हजार १३६ जना छन्। ५८७ जना विदेशी पर्यटकसमेत अझै सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

प्राधिकरणले सनाखत भएका शवको संख्या सम्पर्कविहीनको कुल संख्याबाट घटाइएको स्पष्ट पारेको छ। पछिल्लो तथ्यांकले भोटेकोसी बाढीको मानवीय क्षतिको भयावह तस्वीर थप स्पष्ट पारेको छ।