जेनजी शहीद गौरव जोशीको परिवारलाई निसर्ग हस्पिटलको ३ लाख ५१ हजार सहयोग

धनगढी । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका धनगढीका शहीद गौरव जोशीको परिवारलाई निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले ३ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका गौरवकी आमा गुन्ना जोशीलाई हस्पिटल परिसरमा आयोजित कार्यक्रममा उक्त रकमको चेक हस्तान्तरण गरिएको हो।
निसर्ग हस्पिटलका अध्यक्ष तीर्थराज पन्त, बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र र प्राध्यापक डा. हेमराज पन्तले संयुक्त रूपमा गुन्ना जोशीलाई चेक हस्तान्तरण गरेका थिए।
शहीद गौरव जोशीको परिवारप्रति ऐक्यबद्धता जनाउँदै हस्पिटलले आर्थिक सहयोग गरेको जनाएको छ। साथै, जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका गौरवसहित सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूको योगदान र बलिदानको स्मरणमा हस्पिटलले दीप प्रज्वलनसमेत गरेको हो।
हस्पिटल परिसरमा आयोजित कार्यक्रममा प्राध्यापक डा. हेमराज पन्त, नागरिक समाजका अगुवा प्रमोद पाठक, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा, शहीद गौरव जोशीकी आमा गुन्ना जोशी, हस्पिटलका अध्यक्ष तीर्थराज पन्तलगायत चिकित्सक तथा कर्मचारीहरूको सहभागिता थियो।
कार्यक्रममा पत्रकार, चिकित्सक तथा जेनजी आन्दोलनमा सहभागी युवायुवतीहरूको समेत उल्लेख्य उपस्थिति थियो। सहभागीहरूले दीप प्रज्वलन गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।





प्रतिकृया दिनुहोस्