October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

गृहमन्त्री गुरुङको कडा चेतावनी : ‘जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस्’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनको इतिहासलाई तोडमोड गर्ने प्रयास नगर्न पुराना दलका नेताहरूलाई चेतावनी दिएका छन्। जेनजी शहीद दिवसका अवसरमा काठमाडौंमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपाली जनताको अपमान भएको दाबी गरे।

उनले भने, ‘त्यो दिन इतिहास हो, इतिहास कसैले फेरेर फेरिँदैन। इतिहास फेर्ने कोसिस पनि नगर्नुस्।’ आन्दोलनलाई विभिन्न ढंगले व्याख्या गरेर अपमान गर्ने प्रयास भइरहेको भन्दै गुरुङले पुराना दलका नेताहरूलाई सुध्रिन आग्रह गरे।

‘अझै पनि समय छ, सुध्रिनुस्। त्यही पुरानो सोचले नयाँ नेपाल बनाउन सकिँदैन,’ उनले भने।

गृहमन्त्री गुरुङले आफूहरू सत्ता र शक्तिको लोभमा सरकारमा नआएको दाबी गरे। जनताले जिताएर पठाएको उल्लेख गर्दै उनले आफूबाट कुनै कमजोरी नहोस् भनेर निरन्तर काम गरिरहेको बताए।

पुराना नेताहरूले वर्षौंदेखि चिल्ला भाषण गरे पनि त्यसको परिणाम जनताले भोग्नुपरेको भन्दै उनले अहिले काम गर्ने नेतृत्व रोजिएको बताए। ‘हामी घडीको टिकटिक हेरेर काम गर्दैनौँ, नागरिकलाई दुःख नहोस् भनेर काम गर्छौँ,’ उनले भने।

गुरुङले जेनजीको सुशासनको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए। सुशासनका पक्षमा उभिएका युवामाथि तत्कालीन सरकारले गोली चलाएको आरोप लगाउँदै उनले अब त्यस्तो अवस्था दोहोरिन नदिने दाबी गरे।

पार्टी सभापति रवि लामिछानेले आफूलाई दिएको विश्वास कायम राख्दै जेनजीको आशा मर्न नदिने प्रतिबद्धता जनाउँदै उनले भने, ‘त्यो विश्वासलाई निरन्तर जगाइराख्न चाहन्छु।’

आफू मन्त्री मात्र नभई दाइ, भाइ र छोरा पनि भएको उल्लेख गर्दै गुरुङले अर्को गोली चल्नुपर्ने अवस्था आए मात्रै आफू ढल्ने बताए। ‘अर्को गोली चलाउन यो देशमा कसैले हिम्मत गर्न सक्दैन,’ उनले दाबी गरे।