भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो, ५ हजार ३२६ अझै बेपत्ता

काठमाडौं । रसुवालाई केन्द्रबिन्दु बनाएर आएको भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३ सय ५७ पुगेको छ। गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार दिउँसो १ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै यो तथ्यांक दिएको हो।
बाढीपछि फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा ३ सय ६३ छन्। नवलपरासी पूर्वमा २ सय २३, नवलपरासी पश्चिममा २ सय २२, नुवाकोटमा १ सय ९७, रसुवामा १ सय ६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ।
तर अहिलेसम्म १ सय २ जना मृतकको मात्र सनाखत भएको छ। पहिचान हुन बाँकी शवका आफन्तलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोटो र नाता प्रमाणित कागजातसहित डीएनए परीक्षणका लागि नमुना दिन प्राधिकरणले आग्रह गरेको छ।
बाढीमा परी ५ हजार ३ सय २६ जना अझै सम्पर्कविहीन छन्। रसुवामा मात्रै २ हजार ८ सय ६० जना सम्पर्कविहीन रहेको विवरण छ। बेपत्ता हुनेमा ५ सय ८७ विदेशी पर्यटक, ४५ नेपाली सेना, २५ नेपाल प्रहरी, १२ सशस्त्र प्रहरी र ७३ सरकारी कर्मचारीसमेत छन्। उद्धार भइसकेका वा पहिचान हुन बाँकी मृतक पनि सूचीमा परेको हुनसक्ने भन्दै प्राधिकरणले तथ्यांक रुजु गरिरहेको जनाएको छ।
यसबीच १३ हजार ५ सय ८३ जनाको उद्धार गरिएको छ। बाढीमा घाइते ६ हजार ८ सय २७ मध्ये ३ सय २७ जनाको अस्पतालमा उपचार भइरहेको छ भने २ हजार ४ सय २० जना उपचारपछि डिस्चार्ज भएका छन्। विस्थापितका लागि रसुवा, नुवाकोट र धादिङमा ३९ वटा होल्डिङ सेन्टर सञ्चालनमा छन्, जहाँ ३ हजार ५ सय ३३ जना आश्रित छन्।
उद्धार तथा राहतका लागि २१ हजार ४ सय २ सुरक्षाकर्मी परिचालन भएका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै निजी क्षेत्रका हेलिकप्टरले उद्धारका क्रममा १ हजार ४ सयभन्दा बढी उडान गरिसकेका छन्।
सरकारले राहत वितरण र अत्यावश्यक सेवा पुनःस्थापनालाई तीव्र बनाएको छ। रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत दिइएको छ भने १५ प्रभावित पालिकाका लागि १३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। विद्युत् सेवा पनि क्रमशः सुचारु भइरहेको छ । धादिङमा ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा ७८ प्रतिशत घरधुरीमा विद्युत् पुगेको प्राधिकरणले जनाएको छ।



प्रतिकृया दिनुहोस्