१६२ केजी गाँजासहित दुई पक्राउ, स्कर्टिङ गर्ने जिप पनि नियन्त्रणमा

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–९ भाबरस्थित भित्री सडकबाट प्रहरीले १६२ केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
मंगलबार बिहान पौने ३ बजे भाबरबाट खरङ्गातर्फ आउँदै गरेको बा।प्र।०१–०२५ च ०८७७ नम्बरको कारलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीको गस्ती टोलीले रोकेर जाँच गरेको थियो। कारको सिटमा प्लास्टिकले बेरिएका १३ पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त कारलाई ग २ च ६१५ नम्बरको जिपले स्कर्टिङ गर्दै ल्याइरहेको थियो। दुवै गाडी रोक्न खोज्दा सवार व्यक्तिहरू भाग्न खोजे पनि प्रहरीले कार चालक चितवनको माडी नगरपालिका–५ धोबाहाका ५६ वर्षीय देवनारायण महतो र जिप चालक भरतपुर महानगरपालिका–२४ का ४८ वर्षीय टेकबहादुर दोङलाई नियन्त्रणमा लिएको हो।
प्रारम्भिक सोधपुछका क्रममा जिपमार्फत कारलाई स्कर्टिङ गरिएको खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।





प्रतिकृया दिनुहोस्