कांग्रेस निर्वाचन समितिको बैठक बस्दै, १५औँ महाधिवेशनको कार्यतालिका फेरबदल हुने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्दैछ। आगामी १५औँ महाधिवेशनअन्तर्गतका विभिन्न तहका अधिवेशनहरूको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बैठक दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
आइतबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिकसम्बन्धी विवाद टुंग्याउँदै सबै सदस्यलाई महाधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय गरेको थियो।
त्यस निर्णयपछि निर्वाचन समितिले पनि महाधिवेशनको निर्वाचन कार्यतालिका सोहीअनुसार मिलाउने तयारी गरेको हो। यसअघि प्रभावित भएका तल्लो तहका अधिवेशनहरूको नयाँ मिति निर्धारण गर्ने विषय बैठकको मुख्य एजेन्डा हुनेछ।
बैठकमा अधिवेशनका प्राविधिक तयारी, क्रियाशील सदस्यहरूको अन्तिम नामावली व्यवस्थापन तथा विभिन्न तहका अधिवेशन सञ्चालनका लागि आवश्यक निर्वाचन प्रक्रिया टुंग्याउने विषयमा समेत छलफल हुने जनाइएको छ।
कार्यसम्पादन समितिको निर्णयपछि कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया थप स्पष्ट बनेको छ। निर्वाचन समितिको आजको बैठकले नयाँ कार्यतालिकालाई अन्तिम रूप दिने अपेक्षा गरिएको छ।



प्रतिकृया दिनुहोस्