एसिसी प्रिमियर कपः समूह विजेता बन्न नेपाललाई हङकङविरुद्ध जित आवश्यक

काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कप २०२६ को समूह चरणको अन्तिम खेलमा आज नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ। खेल क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समयअनुसार बिहान ७ः१५ बजे सुरु हुँदैछ।
प्रतियोगितामा लगातार तीन खेल जित्दै ६ अंकसहित समूह ‘ए’ को शीर्ष स्थानमा रहेको नेपाल आज हङकङलाई हराएर समूह विजेता बन्ने लक्ष्यमा छ। नेपालले यसअघि बहराइनलाई ७ विकेट, मलेसियालाई ६ विकेट र साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको थियो।
नेपाल यस प्रतियोगितामा अहिलेसम्म अपराजित छ। समूह चरणको अन्तिम खेलमा पनि जित निकाल्दै सेमिफाइनलअघि आफ्नो लय कायम राख्ने नेपालको लक्ष्य हुनेछ। नेपाल यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ।
उता हङकङले तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोरेको छ। हङकङले पहिलो खेलमा साउदी अरेबियालाई हराएको थियो भने बहराइनसँग पराजित भएको थियो। मलेसियाविरुद्धको खेलमा भने हङकङले सुपर ओभरमार्फत रोमाञ्चक जित निकालेको थियो।
एकदिवसीय क्रिकेटमा नेपाल र हङकङबीच यसअघि चार पटक भेट भएकोमा नेपालले एक खेल जितेको छ भने हङकङले दुई खेलमा बाजी मारेको छ। एक खेल भने वर्षाका कारण रद्द भएको थियो। पछिल्लो पटक सन् २०१८ मा भएको एकदिवसीय खेलमा नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको थियो।
आजको खेल हङकङका लागि पनि महत्वपूर्ण छ। जित हात पारे हङकङले समूहको शीर्ष स्थानको समीकरणमा प्रभाव पार्न सक्छ। त्यसैले अपराजित नेपाल र सेमिफाइनलको सम्भावना बलियो बनाउनुपर्ने हङकङबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।



प्रतिकृया दिनुहोस्