October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

विवाहको वाचा, अर्कैसँग विवाहपछि बलात्कारको आरोप: चालक पक्राउ

धनगढी । विवाह गर्ने वाचा गर्दै केही वर्षदेखि प्रेम सम्बन्धमा रहेकी युवतीले बलात्कारको आरोपमा जाहेरी दिएपछि कैलालीमा एक सवारी चालक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–२ बागमारा निवासी २९ वर्षीय आशाराम चौधरी रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीले आइतबार दिउँसो चिसापानीबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार चौधरी टीकापुरकी २६ वर्षीया युवतीसँग केही वर्षदेखि प्रेम सम्बन्धमा थिए। युवतीले विवाह गर्ने सहमति भएपछि आफूहरूबीच शारीरिक सम्बन्धसमेत रहेको दाबी गरेकी छन्। तर, चौधरीले आफूलाई जानकारी नदिई अर्कै युवतीसँग विवाह गरेको उनको आरोप छ।

विवाहपछि पनि चौधरीले आफूसँग सम्पर्क तथा सम्बन्ध कायम राखेको र गत २८ साउनमा अत्तरियास्थित एक होटलको कोठामा लगेर जबरजस्तीकरणी गरेको भन्दै युवतीले जाहेरी दिएकी हुन्।

युवतीले भदौ १६ गते इलाका प्रहरी कार्यालय मालाखेतीमा चौधरीविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। जाहेरीमा उनले आफूलाई लामो समयदेखि विवाह गर्ने प्रलोभनमा पारेर सम्बन्धमा राखेको र विवाहपछि पनि सम्पर्कमा रहेको दाबी गरेकी छन्।

जाहेरीका आधारमा प्रहरीले नेपालगञ्जबाट गाडी चलाएर धनगढीतर्फ आउँदै गरेका चौधरीलाई चिसापानीमा नियन्त्रणमा लिएको जनाएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी हिरा सिंह महराले जाहेरीका आधारमा चौधरीलाई पक्राउ गरिएको बताए। उनका अनुसार पक्राउ परेका चौधरीलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।