भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३५५ पुग्यो, ४ हजार ९९६ अझै सम्पर्कविहीन

धनगढी । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३ सय ५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान ११ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ३ सय ५५ जनाको शव फेला परेको हो।
बाढीबाट सबैभन्दा बढी क्षति चितवनमा देखिएको छ। चितवनमा ३ सय ६३, नवलपरासी पूर्वमा २ सय २२, नवलपरासी पश्चिममा २ सय २१, नुवाकोटमा १ सय ९७ र रसुवामा १ सय ६९ जनाको शव फेला परेको छ। यस्तै, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव भेटिएको छ। तीमध्ये ९८ जनाको मात्र सनाखत भएको छ।
बाढीपछि ४ हजार ९ सय ९६ जना सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार रसुवाका १ हजार ९ सय ६७, नुवाकोटका २ हजार ३ सय ४०, करिब १ सय सुरक्षाकर्मी तथा कर्मचारी र ५ सय ८९ विदेशी नागरिक सम्पर्कविहीनको सूचीमा छन्। उद्धार भइसकेका तर सनाखत हुन बाँकी व्यक्ति पनि सूचीमा पर्न सक्ने भएकाले तथ्यांक रुजु भइरहेको छ।
उद्धारका क्रममा हालसम्म १३ हजार ३ सय ९६ जनालाई सुरक्षित स्थानमा सारिएको छ। बाढीमा परी घाइते भएका ६ हजार ६ सय ७२ जनाको उपचार गरिएको छ। तीमध्ये २२८ जना डिस्चार्ज भएका छन् भने ३२३ जना अझै अस्पतालमा उपचाररत छन्।
खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित २१ हजार ४ सय २ सुरक्षाकर्मी परिचालन भएका छन्। राहत तथा उद्धारका लागि सुरक्षा निकाय र निजी क्षेत्रका हेलिकप्टरबाट समेत सयौँ उडान भएका छन्।
प्रभावित क्षेत्रमा विद्युत् र सञ्चार सेवा पुनःस्थापनाको काम पनि अघि बढेको छ। धादिङका ९९.८ प्रतिशत, नुवाकोटका ९६.७ प्रतिशत र रसुवाका ७८ प्रतिशत घरधुरीमा विद्युत् सेवा सुचारु भएको छ।
नेपाल टेलिकमका १२० मध्ये ११७ र एनसेलका ७८ मध्ये ७६ टावर सञ्चालनमा आएका छन्। सरकारले प्रभावित जिल्लामा राहत, खाद्यान्न, इन्धन, स्वास्थ्य सामग्री र अन्य अत्यावश्यक सामग्रीको आपूर्ति जारी राखेको जनाएको छ।



प्रतिकृया दिनुहोस्