September 11, 2026, Friday
२०८३ भाद्र २६

पहिरोले ३२ पोल ढल्दा बाजुरा अन्धकारमा, विद्युत् सुचारु गर्न एक साता लाग्ने

बाजुरा । अविरल वर्षासँगै आएको पहिरोले विद्युत्का पोल ढालेपछि बाजुरामा शनिबार मध्यरातदेखि विद्युत् सेवा अवरुद्ध भएको छ। राष्ट्रिय प्रसारण लाइनसँग जोडिएको सदरमुकाम मार्तडीसहितका क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको हो।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख लोकराज जोशीका अनुसार सेलाघाटदेखि नुनेपानीसम्म ३२ भन्दा बढी विद्युत् पोल पहिरोले ढालेका छन्। सुवाकाँधमा ७ र विरेखोला आसपास २५ वटा पोल ढलेका छन्।

आइतबार विद्युत् सेवा सुचारु गर्न प्राविधिक टोली परिचालन गरिए पनि लगातार वर्षाका कारण काम गर्न नसकेर टोली फर्किएको जोशीले बताए। क्षतिग्रस्त पोल तथा संरचना मर्मत गरी विद्युत् सेवा सुचारु गर्न एक सातासम्म लाग्न सक्ने उनको भनाइ छ।

अछामको साँफेबगरबाट ३३ केभी राष्ट्रिय प्रसारण लाइनमार्फत बाजुरामा विद्युत् आपूर्ति हुँदै आएको छ। सेवा अवरुद्ध हुँदा मार्तडी, बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका बासिन्दा प्रभावित भएका छन्।

विद्युत् नहुँदा जिल्लाका सञ्चारमाध्यम, उद्योग तथा व्यवसायसमेत प्रभावित भएका छन्। विशेषगरी दैनिक समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई विद्युत् अभावले समस्या भएको छ।

यसैबीच अविरल वर्षाका कारण साँफे–मार्तडी राजमार्गसमेत पहिरोले अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय साँफेबगरको जेसिबी प्रयोग गरी पहिरो पन्छाउने प्रयास गरिए पनि वर्षाका कारण काम प्रभावित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा प्रवक्ता गगनसिंह भाटले बताए।

उनका अनुसार सोमबार बिहानदेखि पुनः पहिरो पन्छाएर सडक खुलाउने काम सुरु गरिएको छ।