महाकालीमा पानीको बहाब उच्च, वनबासा पुलमा तीन दिनदेखि चारपांग्रे सवारी रोक

कञ्चनपुर । महाकाली नदीमा पानीको बहाब उच्च भएपछि शारदा ब्यारेजअन्तर्गतको वनबासा पुलमा तीन दिनदेखि चारपांग्रे सवारीसाधनको आवागमन रोकिएको छ। आइतबार पनि नदीमा पानीको बहाब उच्च रहेपछि पुलबाट चारपांग्रे सवारी सञ्चालन हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार महाकालीमा पानीको बहाब १ लाख २८ हजार क्युसेक पुगेको छ। दिउँसो बहाब बढेर १ लाख ६७ हजार क्युसेक पुगेको थियो।
पहाडी जिल्लामा निरन्तर वर्षा भइरहेकाले महाकालीको बहाब घट्न सकेको छैन। तटीय क्षेत्रमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मीले माइकिङ गरेर स्थानीयलाई सतर्क रहन आग्रह गरिरहेका छन्।
सय वर्षभन्दा पुरानो वनबासा पुलमा जोखिम बढ्न सक्ने भन्दै महाकालीमा पानीको बहाब १ लाख क्युसेक नाघेपछि चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने गरिएको छ। बिहीबार केही समय पुल खुले पनि पानीको बहाब पुनः बढेपछि आवागमन बन्द गरिएको थियो।





प्रतिकृया दिनुहोस्