September 1, 2026, Tuesday
२०८३ भाद्र १६

बालेनसँगको भेटपछि रवि लामिछानेले राष्ट्रपतिलाई दिए बाढी प्रभावित क्षेत्रको ‘ब्रिफिङ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। सोमबार राष्ट्रपति भवन शीतलनिवास पुगेर लामिछानेले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।

भेटका क्रममा उनले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति, प्रभावित नागरिकको उद्धार तथा राहतका लागि भइरहेका प्रयासबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए।

यसअघि लामिछानेले सोमबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँग भेट गरेका थिए। भेटमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा नागरिकको जीउधनको सुरक्षा, खोज तथा उद्धार, राहत सामग्रीको सहज पहुँच र पुनःस्थापनाका लागि सरकारी संयन्त्र पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराएका थिए।

प्रधानमन्त्रीबाट प्राप्त जानकारीपछि लामिछानेले राष्ट्रपति पौडेललाई सरकारका तर्फबाट भइरहेका उद्धार, राहत तथा पुनःस्थापनाका प्रयासबारे ‘ब्रिफिङ’ गरेका हुन्।

भेटमा बाढी प्रभावित नागरिकको उद्धार तथा राहत वितरणसँगै क्षतिग्रस्त सडक, पुललगायत भौतिक संरचनाको पुनःस्थापना र प्रभावित नागरिकको व्यवस्थापनका विषयमा समेत छलफल भएको थियो।